बढैयाताल घटना : अञ्जुका पति अनिल पुर्पक्षका लागि कारागार चलान

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

पुस २४, २०८२

रामप्रसाद चौहान 

Badhaiyatal incident: Anju's husband Anil sent to jail for trial

बर्दिया — नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले बुधबार बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका अनिललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

अञ्जुको मृत्युपछि अनिलविरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । २९ मंसिरमा अनिललाई प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कस्थितबाट पक्राउ गरेको थियो । मन्दिरमा सिन्दूर हालेर अञ्जुलाई अनिलले घरमा भित्र्याएका थिए । अनिलकै घरमा अञ्जुले छोरी अनितालाई जन्म दिएकी थिइन् । त्यसपछि अनिलले अञ्जुलाई वास्ता गर्न छोडेका थिए ।

अनिलले अञ्जुलाई बेवास्ता गरेपछि अञ्जु माइतीमा बस्न बाध्य भएकी थिइन् । पतिबाट उपेक्षित अञ्जु अंशको माग गर्दै अदालत पुगेकी थिइन् । अनिलले पाउने अंशबाट अञ्जु र उनकी छोरी अनितालाई दिनुपर्ने अदालतले फैसला गरेको थियो । तर,अदालतको फैसला कार्यान्वयन भएको थिएन ।

अञ्जुसँग नागरिकता नहुँदा अंश पाउन समस्या भएको थियो । धेरै प्रयास गर्दासमेत नागरिकता पाउन नसकेपछि २२ कात्तिकमा अञ्जुले घरमै आत्महत्या गरेकी थिइन् भने सँगै न्यायको लडाइँमा संघर्ष गर्दै आएका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि छोरीकै बाटो पछ्याएका थिए ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully