२० दिने सचेतना तथा अनुगमन अभियानमा सार्वजनिक र निजी ५० सवारीसाधनलाई अश्लील तथा अपमानजनक शब्द प्रयोग गरेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपालगन्ज — सार्वजनिक तथा निजी सवारीसाधनहरूमा महिलालाई होच्याउने, अमर्यादित वा आत्मसम्मानमा ठेस पुर्याउने शब्द लेखिएको पाइएमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कारबाही गर्ने अभियान सुरु गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार, सवारीसाधनमा लेखिएका अस्वाभाविक र अश्लील शब्दहरूले चालकको ध्यान भंग गरी दुर्घटनाको जोखिम बढाउन सक्छ। त्यसैले विभिन्न अश्लील वा अपमानजनक शब्द हटाउने कार्य सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष सचेतना तथा अनुगमन अभियान अन्तर्गत २० दिनको अवधिमा हालसम्म ५० वटा सवारीसाधनलाई कारबाही गरिएको छ।
इन्चार्ज शाहीका अनुसार, सार्वजनिक र निजी दुवै प्रकारका सवारीसाधनमा लेखिएका अपमानजनक शब्दहरूको निरन्तर अनुगमन गरिनेछ। 'महिलालाई अपमान गर्ने, होच्याउने वा अमर्यादित शब्द भेटिएमा ती शब्द मेटाउने र आवश्यक कारबाही गर्ने काम भइरहेको छ,' उनले बताए।
नेपाल सरकारको हेलो सरकारमा महिलामाथि हुने भाषिक हिंसाको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो। अभियानको मुख्य उद्देश्य शब्दका माध्यमबाट हुने महिलामाथिको हिंसा न्यूनीकरण गर्नु र सवारी दुर्घटना नियन्त्रण गर्नु रहेको इन्चार्ज शाहीले बताए।
'महिलामाथि हुने हिंसा केवल शारीरिक मात्र होइन, भाषिक पनि हो। त्यसलाई रोक्नु हाम्रो दायित्व हो,' उनले थपे। ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
