बूढापाकाका अनुसार यति लामो शीतलहर र घाम नलागेको अनुभव यसअघि कमै गर्नुपरेको थियो । बढैयाताल–१ का ७० वर्षीय राम दुलारे थारुले २२ वर्षअघि १५ दिनसम्म चिसो र हुस्सुले सताएको अनुभव सुनाए ।
What you should know
बर्दिया — पुस १ गतेबाट बाक्लो हुस्सु, शीतलहर र चिसो हावाले बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि अत्यधिक चिसो हावा चलेपछि जनजीवन प्रभावित बन्दै गएको हो । अहिले साँझ–बिहान मानिसको चहलपहल सडकमा देखिन छोडेको छ । सडक सुनसान देखिन थालेका छन् ।
पुस महिनायता एक दिन मात्र मधुरो घाम देखिए पनि त्यसपछि घाम देखिएको छैन । कपडा धोएर सुकाउँदा करिब ४/५ दिनमा सुक्ने गरेको मधुवन नगरपालिका–५ की नन्दकला खत्रीले बताइन् ।
बूढापाकाका अनुसार यति लामो शीतलहर र घाम नलागेको अनुभव यसअघि कमै गर्नुपरेको थियो । बढैयाताल गाउँपालिका–१ का ७० वर्षीय राम दुलारे थारुले २२ वर्षअघि १५ दिनसम्म चिसो र हुस्सुले सताएको अनुभव सुनाए । ‘त्यसयता अहिले यति धेरै चिसो भयो,’ उनले भने, ‘चिसो बढ्दै जाँदा निकै कष्ट भइरहेको छ ।’
पालिकाहरूले विपन्न परिवारलाई न्याना कपडा र दाउरा वितरण गरेका छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले विपन्न परिवारलाई कम्बल, न्याना कपडा र दाउरा वितरण गरिरहेको बताए । चिसो बढ्दै गए सर्वसाधारणका लागि चोकचोकमा थप दाउरा वितरण गर्ने उनले जनाए ।
स्थानीयले भने पालिकाले वितरण गरेको दाउरा पर्याप्त नभएको गुनासो गरिरहेका छन् । तापक्रम घट्दै गएपछि जनजीवन थप प्रभावित भएको छ । पसल–सटर खोलिरहेका व्यवसायीहरू पनि मानिसहरू आउन छाडेपछि चोकचोकमा आगो बालेर बसिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले चिसोबाट जोगिन सबैमा अपिल गरेका छन् ।'अत्यावश्यक काम बाहेक बाहिर ननिस्किएर न्यानो पारेर बस्न विशेष अनुरोध छ,' उनले भने, 'जाडोमा वृद्धवृद्धा र बालबालिकाको विशेष ख्याल गरौं ।'
