पाल्पामा नसर्ने रोगका बिरामी बर्सेनि बढ्दै

आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका ६ सय ५७ जना दीर्घरोगीले संघीय सरकारबाट प्राप्त हुने मासिक ५ हजार रुपैयाँका दरले पाउने स्वास्थ्य उपचार सुविधा प्राप्त गरेका छन्।

पुस २२, २०८२

माधव अर्याल

Patients with non-communicable diseases are increasing year by year in Palpa

What you should know

पाल्पा — पाल्पामा नसर्ने रोगका बिरामीको संख्या बर्सेनि बढ्दै गएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ६ सय ५७ जना दीर्घरोगीले संघीय सरकारबाट प्राप्त हुने मासिक ५ हजार रुपैयाँका दरले पाउने स्वास्थ्य उपचार सुविधा प्राप्त गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा भने ५ सय १० जनाले यो सुविधा लिएका थिए। त्यसअघिको वर्षमा ४ सय २३ जनाले यो सुविधा लिएका थिए।

संघीय सरकारले स्पाइनल प्यारालाइसिस, मृगौला रोग र क्यान्सरबाट पीडित बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार उपलब्ध गराउँदै आएको छ। जिल्लामा यस्तो सुविधा लिने बिरामीको संख्या हरेक वर्ष बढ्दै गएको वरिष्ठ तथ्यांक अधिकृत तथा निमित्त कार्यालय प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए। ‘नसर्ने रोगका विषयमा पालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयले स्क्रिनिङ गर्दै आएको छ,’ उनले भने, ‘गाउँ–गाउँमा बिस्तारै नसर्ने रोगको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ।’

यस्तो सुविधा लिने सबैभन्दा धेरै तानसेन नगरपालिकाभित्रका बिरामी रहेको उनले बताए। गत आर्थिक वर्षमा तानसेनका १ सय ५० जना बिरामीले मासिक ५ हजार रुपैयाँ सुविधा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा १३० जना थिए भने त्यस अघिको वर्षमा ९५ जना थिए।

जिल्लाकै रामपुर नगरपालिकाका ८२ जना जनाले यो सुविधा लिएका छन्। गत वर्षमा रामपुरमा २६ जनाले मात्र यो सुविधा लिएका थिए। तानसेननजिक रहेको बगनासकाली गाउँपालिकाका ७४ जनाले यो सुविधा लिएका छन्। अघिल्लो आर्थिक वर्षमा भने बगनासकालीमा ७७ जनाले सुविधा लिएका थिए। रिब्दीकोट गाउँपालिकाका ६३ जनाले सुविधा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसअघिको आर्थिक वर्षमा ५८ र त्यसअघि ४२ जनाले सुविधा लिएका थिए।

माथागढीका ५७ जनाले अघिल्लो आर्थिक वर्षमा सुविधा लिएका थिए भने त्यसअघि २६ जनाले यो सुविधा लिएका थिए। रिब्दीकोटका ५५ जनाले अघिल्लो आर्थिक वर्षमा लिएका थिए भने त्यसअघिको वर्षमा ४० जनाले लिएका थिए।

रम्भा र पूर्वखोलाका ४८/४८ जनाले अघिल्लो आर्थिक वर्षमा सेवा लिएका थिए भने त्यसअघिको वर्षमा क्रमशः २५ र ७१ जनाले यो सुविधा लिएका थिए। निस्दीका ३२ जनाले अघिल्लो आर्थिक वर्षमा यो सुविधा लिएकामा त्यसअघिको वर्षमा २७ जनाले लिएका थिए। तिनाउ गाउँपालिकाका ३१ जनाले सुविधा लिएकामा त्यसअघिको वर्षमा ३० जनाले लिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य कार्यालयले ३ सय ३३ जनालाई विपन्न नागरिक उपचार कोषमार्फत निःशुल्क सेवाका लागि सिफारिस गरेको थियो। अघिल्लो आर्थिक वर्षमा ३४६ र त्यस अघिको वर्षमा ३२९ जनालाई सिफारिस गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताए।

सबैभन्दा धेरै तानसेन नगरपालिकाबाट ७८, रामपुर नगरपालिकाबाट ५८ जनालाई सिफारिस गरिएको छ। बगनासकाली गाउँपालिकाबाट ४१, रम्भाबाट ३१, माथागढीबाट ३२, तिनाउ र रिब्दीकोटबाट १७/१७, पूर्वखोलाबाट २७, निस्दीबाट ८ र रैनादेवी छहराबाट ३० जनालाई सिफारिस गरिएको छ।

सरकारले विभिन्न आठ प्रकारका रोगबाट पीडित बिरामीलाई यो सिफारिसका आधारमा सेवा दिँदै आएको छ। मृगौला, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमर रोगका लागि विपन्न नागरिक उपचार कोषमार्फत निःशुल्क सेवा लिन सिफारिस दिइने गर्छ।

निःशुल्क उपचारका लागि मुटुरोगी ८९ जना, मृगौला रोगी ६० जना, क्यान्सर रोगी १ सय ८० जना, स्पाइनल इन्जुरीका दुई, हेड इन्जुरीका एक र सिकलसेल एनिमियाका एक जना बिरामीलाई सिफारिस गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा मृगौला ५७, मुटु १ सय ६, क्यान्सर १ सय ६५, हेड इन्जुरी २, स्पाइनल इन्जुरी ९ र सिकलसेल एनिमियाका थिए भने पार्किन्सन्सका एक जना थिए। अल्जाइमर रोगका लागि भने सिफारिस भएन।

लुम्बिनी प्रदेश सरकारले तीन रोगबाट प्रभावित बिरामीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले उपचार अनुदान दिने गरेको छ। मृगौला प्रत्यारोपण, क्यान्सर रोग र मुटुको भल्भ फेर्नका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षमा १ सय ३१ जना बिरामीले दुई लाख रुपैयाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा लिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईले बताए। त्यसमध्ये आठ जना मृगौला रोगी, १ सय १९ जना क्यान्सर रोगी र चार जना मुटुको भल्भ फेर्नुपर्ने रोगी थिए।

आर्थिक वर्ष २०८०/८१ मा मृगौला प्रत्यारोपणका लागि १६, क्यान्सर रोगका लागि १ सय २ र मुटुको भल्भ फेर्नका लागि १० जना गरी १ सय २८ जनाले विभिन्न पालिकाबाट सेवा लिएका थिए।

पछिल्लो समय संघीय र प्रदेश सरकारले उपलब्ध गराउने गरेको स्वास्थ्य उपचारसम्बन्धी सुविधा लिनेको संख्या बढेको हो। नयाँ बिरामी पत्ता लाग्ने र पुराना बिरामीले उपचार पाउँदा उपचार सुविधा पाउने बिरामी हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ।

गत वर्ष स्वास्थ्य कार्यालयले १० वटै स्थानीय तहका ७ सय ६३ असक्त र २ हजार १४७ ज्येष्ठ नागरिक गरी २ हजार ९१२ जनाको घरमै गएर परीक्षण गरेको थियो। जसबाट दमका १० प्रतिशत, उच्च रक्तचापका ३३ प्रतिशत र सुगरका ६ प्रतिशत बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

८० वर्ष पुगेका ज्येष्ठ नागरिक तथा अतिअशक्त (क र ख) वर्गलाई स्थानीय तहसँगको सहकार्यमा परीक्षण गरिएको हो। ४० वर्षभन्दा माथिका व्यक्तिका लागि नसर्ने रोग (सुगर, प्रेसर र मृगौला रोग) स्क्रिनिङ कार्यक्रम गरिएको थियो। १० वटै पालिकाका ११ हजार ६४८ सेवाग्राहीमा नसर्ने रोगअन्तर्गत मृगौला रोग, सुगर, उच्च रक्तचाप र बीएमआई परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

१० वटै पालिका र १ वटा स्वास्थ्य चौकीमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी र अन्य सरोकारवालालाई एक दिने अभिमुखीकरण गरिएको थियो। ४ सय ७६ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो भने २ हजार नसर्ने रोगसम्बन्धी पम्पलेट छपाइ गरी वितरण गरिएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष १३ हजार ५३६ जनामा सर्वेक्षण गरिएको थियो। जसमा ८ हजार ६२६ महिला र ४ हजार ९०९ जना सहभागी रहेका थिए। ३० वर्षदेखि ९० वर्षसम्मका व्यक्तिलाई सर्वेक्षणमा सहभागी गराइएको थियो। मधुमेह जाँच, उच्च रक्तचाप तथा पिसावमा प्रोटिनको मात्रा जाँच गरिएको थियो।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully