बुटवलको पुरानो क्लब डेनोभोको पुनर्जीवन

भैरहवानजिक टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउनुपूर्व यहाँको सुविधा सम्पन्न होटल क्लब डेनोभो नै थियो। यो होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सेमिनार हल, आकर्षक वास्तुकलाका साथै रैथाने संस्कृति झल्किने बगैंचा रहेको छ ।

पुस २२, २०८२

दीपेन्द्र बडुवाल

Butwal's old club Denovo revived

What you should know

भैरहवा — बुटवलको पर्यटकीय कालिकापथ चम्किएको दशक बितेको छैन। बुटवलको अस्पताल लाइनदेखि दक्षिण योगीकुटीसम्म कालिपथका घरैपिच्छे दायाँबायाँ अहिले रेष्टुरेन्ट, भान्छा घर, कफी हाउस र सुविधा सम्पन्न होटल खुलेका छन्। अहिले बुटवलको मुख्य राजमार्ग बजारभन्दा कालिका पथ आकर्षणको केन्द्र बनेको छ ।

१७ वर्षअघि कालिका पथ हुँदै यात्रा गर्न डर लाग्थ्यो । त्यतिबेला तीनकुने चोकसम्म मात्रै घर थिए । त्यसभन्दा दक्षिण योगीकुटीसम्म बाक्लो बसोबास थिएन। कालिकानगरमा विद्युत् प्राधिकरणको कार्यालय थियो । ‘कालिका पथ भएर राति मानिस हिँडडुल गर्थेनन्,’ कालिकापथमा रहेको क्लब डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठकले भने, ‘शिव मन्दिर र विद्युत् कार्यालयमात्र थिए, मुख्य राजमार्ग छेउछाउमात्र घर थिए ।’

रूपन्देहीको व्यापारिक केन्द्र र औद्योगिक सहर बुटवलका उद्योगी व्यवसायी विदेश यात्रा गरिरहन्छन्। विदेशबाट पनि लगानीकर्ता आइरहन्छन्। यसरी आउने पाहुनालाई जमघट हुने थलोको अभाव थियो । त्यो देखेर कालिका पथमा पहिलोपटक क्लब डेनोभो सञ्चालनमा ल्याएको पाठकले बताए । ‘भेला भएर कुराकानी गर्ने ठाउँकै अभाव थियो,’ उनले भने, ‘बुटवललाई कसरी उँभो लगाउन सकिन्छ भन्ने सोच आइरहेका बेला क्लब सञ्चालनमा ल्याएको हुँ ।’ साउना, ज्याकुजीसहितको हेल्थ क्लब सञ्चालनमा ल्याएपछि सर्वसाधारण आकर्षित भए।

त्यसबेला पूर्वपश्चिम राजमार्गका ठाउँठाउँमा क्लब डेनोभो उल्लेख गरिएका होर्डिङ बोर्ड थिए। जसले गर्दा बुटवलको आतिथ्यताको प्रचार भएको उनले बताए। क्लब सञ्चालन गरेको डेढ वर्षपछि ४० वटा कोठा थप गरिएको थियो। भैरहवानजिक टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउनुभन्दा अगाडि सुविधा सम्पन्न होटलमध्ये एक थियो- क्लब डेनोभो । 

होटलमा रेष्टुरेन्ट, स्विमिङ पुल, सेमिनार हल, आकर्षक वास्तुकलाका साथै रैथाने संस्कृति झल्किने बगैंचा रहेको छ । ‘तर, आतिथ्यताको क्षेत्रमा सधैं एउटै शैली र निर्माणले मात्र काम गर्दो रहेनछ,’ उनले भने, ‘निश्चित अवधिपछि केही न केही परिवर्तन जरुरी रहेछ, त्यसैले हामीले पनि १७ वर्षपछि क्लब डेनोभोलाई पुनर्जीवन प्रदान गरेका छौं, अहिले नयाँ स्वरूप बनेको छ।’

अहिले बुटवलमा कफी कल्चर फैलिएको छ। कालिका पथ होस् कि मुख्य राजमार्ग दायाँबायाँ कफी हाउस खुलेका छन्। क्लब डेनोभोले पनि होटलको अग्रभागमा कफी हाउस सञ्चालनमा ल्याएको छ। नेपालीसँगै विदेशी वास्तुकलाको उपयोग गरेर निर्माण गरिएको आर्टिसन कफी हाउस आकर्षक छ। कफी हाउसमा ‘बुना तेतु’ कफी उपलब्ध छ। ‘बुना तेतु इथोपियाको राष्ट्रिय पर्वको नाम हो,’ पाठकले भने, ‘कफीको सुरुआत पनि त्यहीँबाट भएको मानिन्छ, त्यसैले नाम जुराएको हुँ ।’ यसको अर्थ सँगै बसेर कफी पिउँ भन्ने लाग्ने उनले बताए । यहीँ रहेको बारको रसियन नाम ‘रुम्का’ राखिएको छ । यसको अर्थ सानो गिलासमा मदिराको चुस्की लिनु हुन्छ।

होटलको अग्रभागमा कफी हाउस राख्नुको अर्थ बुटवलमा फैलिएको कफी कल्चरलाई जोड दिनु रहेको उनले बताए । यहाँ गुल्मी र स्याङ्जामा उत्पादन भएको कफीलाई प्राथमिकता दिइएको छ । यहीँको पहाडमा उत्पादन भएको कफी बिक्री गर्न किसानसित जोडिन लागेको पाठकले बताए। ‘किसानसित समन्वय गरेर कफी उत्पादन गर्ने सोच छ,’ उनले भने, ‘आर्टिसन कफी हाउसमा विदेशी स्वादका कफी पनि उपलब्ध छन् ।’ यहाँ लालीगुराँसको चिया पनि बेच्न लागिएको उनले बताए । अहिले होटलमा ८० जना कामदार रहेका छन् । ती सबै स्थानीय हुन्। 

कफी हाउस लगत्तै माघ १ गतेबाट रेष्टुरेन्ट सञ्चालनको तयारी भइरहेको पाठकले बताए । डेनोभोको अर्थ नयाँ सुरुवात भएकाले केही न केही परिवर्तन गरिरहेको उनले बताए। ‘यो मेरो धैर्यसित सम्बन्धित छ,’ उनले भने, ‘काठलाई कुँदेर आकर्षक रेष्टुरेन्ट निर्माण गर्न चार वर्ष लाग्यो।’ 

नेपाली नयाँ वर्षमा क्लब डेनोभोको १७ औं वार्षिकोत्सव मनाउने तयारी छ। त्यसैले अहिले १२ वटा उच्चस्तरीय सुविधासहितका कोठा निर्माण भइरहेका छन्। अहिले रहेका कोठालाई पनि ‘अपग्रेड’ गरिएको उनले बताए। ‘यहाँ धेरै मुलुकका वास्तुकलाको संग्रह गरिएको छ,’ उनले भने, ‘डिजाइनर्स कलेक्सनमा विभिन्न वास्तुकलाको सम्मिश्रण छ।’

दीपेन्द्र बडुवाल

Link copied successfully