तीव्र बसाइँसराइका कारण १ सय ९ विद्यार्थीमा सीमित गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेको जनसहयोग माध्यमिक विद्यालयमा भार्सेलीहरूको सहयोगी मनका कारण कम्प्युटर ल्याब स्थापना भएको छ।
What you should know
गुल्मी — अहिले पनि अधिकांश सरकारी विद्यालयमा कम्प्युटर शिक्षा किताबमा मात्रै सीमित छ । चित्र हेरेर कम्प्युटर चिन्ने र कण्ठ गरेर परीक्षामा लेख्ने यथार्थपरक बाध्यतामा विद्यार्थी छन् ।
यी र यस्तै समस्याबाट गुज्रिएको गुल्मीको एक विद्यालयमा कम्प्युटर सिक्दै गरेका विद्यार्थी देख्दा शिक्षामा अग्रगामी छलाङको अनुभूति हुन्छ ।
विद्यालयको चिटिक्क परेको नयाँ भवन । त्यही भवनको एउटा कोठा । भित्र छिर्दा २० विद्यार्थीका अगाडि आ-आफ्नै कम्प्युटर छन् । त्यही कम्प्युटरमा विद्यार्थीले सिकिरहेका आ-आफ्नै सिकाइका चरणहरू पनि ! विद्यार्थीमा बेग्लै उत्साह छ । किताबी ज्ञानको बोझ मात्रै नभएर प्राविधिक ज्ञानको उमंगमा विद्यार्थी व्यस्त छन् ।
गुल्मीको सत्यवती गाउँपालिका-८ स्थित भार्से जनसहयोग माध्यमिक विद्यालय जिल्लाकै सबैभन्दा पुरानो विद्यालय हो । तीव्र बसाइँसराइका कारण १ सय ९ जना विद्यार्थीमा सीमित यस विद्यालयमा भार्सेलीहरूको सहयोगी मनका कारण कम्प्युटर ल्याब स्थापना भएको छ । २० कम्प्युटरसहित स्थापना गरिएको ल्याबमा एक कम्प्युटर शिक्षक पनि सहयोगी मनहरूकै लगानीमै पढाइरहेका छन् ।
भार्सेमा जन्मेर रोजगारीको सिलसिलामा अन्यत्र हुनेहरूले गाउँ र गाउँको विद्यालयलाई सम्झेर कम्प्युटर ल्याबको स्थापना र कम्प्युटर शिक्षक व्यवस्था गरेको भार्से जनसहयोग माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकहरी पाण्डेले बताए । दशैं-तिहार बिदापछि कम्प्युटर सिकाइ सुरु भएको उनले बताए । सहयोगी दाताहरूकै सहयोगमा कम्प्युटर ल्याब, नेटवर्किङ, सीसीटीभी र कम्प्युटर शिक्षक समेत सहयोग भएको उनले बताए ।
अहिले भार्से जनसहयोग माध्यमिक विद्यालयका विद्यार्थीहरू पालैपालो कम्प्युटर सिकिरहेका छन् । कम्प्युटर सिकिरहेका कक्षा ५ का विद्यार्थी प्रशान्त पाण्डेले निकै खुसी लागेको बताए । कक्षा ६ का विद्यार्थी विनीता नेपालीले कम्प्युटर सिक्न पाउँदा पढाइमा उत्साह थपिएको बताइन् ।
कम्प्युटर ल्याब स्थापना गर्नका लागि स्थानीय नरु बुढाथोकीले अगुवाइ गरेका थिए । कुल ७ लाख रुपैयाँमा कम्प्युटर ल्याब स्थापना गरेको र संकलन रकमबाट शिक्षकको व्यवस्था गरेको उनले बताए । 'विद्यार्थी पलायन रोक्न र प्राविधिक ज्ञान प्रदान गर्न सहयोग जुटाएर ल्याब स्थापना गरेका हौं,' उनले भने, 'कम्प्युटर ल्याबले विद्यार्थीमा उत्साह थपेको छ, यो नै हाम्रो सफलता हो ।' यसमा भार्सेलीहरूले सहयोग गरेकामा उनले धन्यवादसमेत व्यक्त गरे ।
कम्प्युटर ल्याब स्थापना गर्न मुख्य नेतृत्वदायी भूमिका अवकाशप्राप्त ब्रिटिस आर्मीका लेफ्टिनेन्ट र हाल हङकङ बस्ने भार्सेकै कुलबहादुर बुढाथोकीले गरेका छन् । विदेशमै रहेर पनि बुढाथोकीले गाउँको विद्यालयमा गुणस्तरीय शिक्षाका लागि सहयोग गरेका हुन् । उनको मुख्य भूमिका र अतुलनीय सहयोगका कारण कम्प्युटर ल्याब स्थापना भएको स्थानीय अगुवा नरु बुढाथोकीले बताए । उनले उनीसहित सहयोग गर्ने सबै सहयोगी मनहरूमा आभार प्रकट गरे ।
