क्षेत्र १ बाट ६ र क्षेत्र २ बाट ४ जनाको नाम सिफारिस ।
पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा एमालेले १० जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा एकल नाममा सहमति जुट्न नसकेपछि क्षेत्र १ बाट ६ र क्षेत्र २ बाट ४ जनाको नाम सिफारिस गरेको एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीले बताए ।
पाल्पा क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयोगका सदस्य तथा युवा नेता निल सारू, एमाले जिल्ला उपाध्यक्ष विमल काफ्ले, नेता शिव अर्याल र नेतृ दुर्गादेवी रानाको नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष घर्तीले बताए । सारु, काफ्ले, अर्याल र राना नयाँ अनुहार हुन् ।
क्षेत्र २ बाट पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको नाम सिफारिस भएको क्षेत्रीय कमिटी अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
क्षेत्रीय कमिटीको बैठकबाट एमालेले क्षेत्र नम्बर २ बाट पौडेलसहित एमाले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, संविधानसभा सदस्य (२०६४) नारायणीदेवी शर्मा घिमिरे र नेता डा.रामबहादुर राउत रहेका छन् । राउत मात्र नयाँ अनुहार हुन् ।
