न्यून सुविधामा स्वास्थ्य सेवामा खटिन्छन् स्वयंसेविका

थाेरै यातायात खर्च, वार्षमा एक पटक पोसाक र खोपलगायत कार्यक्रम चलेका बेला खाजा खर्चबाहेक पारिश्रमिक हात नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको सधै‌ंको गुनासो छ।

पुस २०, २०८२

माधव अर्याल

Volunteers work in health services with minimal facilities

What you should know

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवा माझकोटकी अम्बिका पन्थी महिला स्वास्थ्य स्वयंसेविका हुन्।

दुई छोरा, श्रीमान्सँगै रहेकी उनले बिहान–बेलुकी घरधन्दा सकेर स्वयंसेविकाको भूमिका निर्वाह गर्दै आएकी छिन्। घरको काम सकेर टोल–टोलमा पुगेर उनले स्वास्थ्य सम्बन्धी जानकारी लिने गर्छिन्। ‘स्वयंसेविका नाम भए पनि काम धेरै गर्नुपर्छ,’ उनले भनिन्, ‘गर्भवती/सुत्केरीको जानकारी लिने, बच्चाको खोपबारे सम्झाउने, परिवार नियोजनका साधनबारे जानकारी दिनेलगायतका धेरै काम गर्नुपर्छ।’

थाेरै यातायात खर्च, वार्षिक एक पटक पोसाक खर्च र खोपलगायत कार्यक्रम चलेका बेला खाजा खर्चबाहेक पारिश्रमिक हात नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको सधै‌ंको गुनासो छ।

स्वयंसेविका पन्थीले दुर्गमका गाउँमा आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने आफूहरू वाहक भएको बताइन्। स्वयंसेविकाकै परामर्श र उनीहरुबाटै संकलन हुने सूचनाका कारण पनि मातृशिशु स्वास्थ्यमा सुधार भएको र दुर्गमका बस्तीसम्म राज्यको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह र प्रवर्द्धन हुन सकेको उनको दाबी छ।

१३ वर्षदेखि स्वयंसेविकाको काम गर्दै आएकी पन्थीले भनिन्, ‘एउटै व्यक्तिसँग कम्तीमा पाँच पटक पुग्नुपर्छ। गाउँ टाेलमा नियमित बैठक र बेलाबेला वडा तथा पालिकासम्म पनि पुग्नुपर्छ,’ ‘काम अनुसार सेवासुविधा पाइएको छैन ।’  

पूर्वखोला गाउँपालिका–४ देवीनगरकी यमकुमारी ढेंगा १२ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविका छन्। उनले सरकारको खोप कार्यक्रम विस्तार, मातृ तथा नवजात स्वास्थ्य सुदृढीकरण र स्वास्थ्य आपत्कालीन अवस्थामा समुदायलाई सुरक्षित राख्न सहयोग गरिरहेको बताइन्।‘स्वयंसेविकाहरूले पुर्‍याएको योगदानको कदर हुन्छ वा हुँदैन थाहा छैन,’ उनले भनिन्, ‘प्रत्येक स्वयंसेविका सेवाभाव, समर्पण र समुदायको स्वास्थ्यका लागि निरन्तर खटिएका छौं जस्तो लाग्छ।’

२०७० सालदेखि स्वयंसेविका बनेकी ढेंगा मगरलाई घरायसी कामका साथै बालबच्चा पढाउने जिम्मेवारी पनि छ। तालिकाअनुसार गर्भवतीलाई स्वास्थ्य संस्था पठाउने, गर्भ बसेकालाई सोधपुछ गर्ने काम पनि समयमै गर्नुपर्ने उनले बताइन्। अझ पाँच वर्षमूनिकालाई भिटामिन र जुकाको औषधि खुवाउने काम पनि गर्दै आएको ढेंगा मगरले बताइन्। ‘हामीले टोल–टोलमा पुग्ने मात्र होइन, स्वास्थ्य आमा समूहको बैठक बसाल्नुपर्छ,’ उनले भनिन्, ‘धेरै समय बिहानै उठेदेखि बेलुकीसम्म नै कार्यतालिका बनाएर बस्नुपर्ने हुन्छ।’ उनका अनुसार आमाहरूलाई स्वास्थ्य तथा सरसफाइबारे चेतनामूलक कार्यक्रमसमेत गर्नुपर्छ।  

ग्रामीण स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले ३७ वर्षअघि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु गरेको हो। कार्यक्रमको प्रभावले आधारभूत स्वास्थ्य सेवाको पहुँच दुर्गम र ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए। उनका अनुसार सरकारले स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरेको यस कार्यक्रमले पछिल्लो समय गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा सहज बनाएको छ। जिल्लामा स्वयंसेविकाका कारण दुर्गम क्षेत्रमा यसको बढी प्रभाव परेको छ। ‘दुर्गम गाउँका लागि स्वास्थ्यकर्मी झैं सेवा दिएका छन्,’ उनले भने, ‘मातृ शिशु, सुनौला हजार दिनका आमाहरूका लागि स्वास्थ्य सुधार हुनुमा मुख्य श्रेय महिला स्वास्थ्य स्वयंसेविकालाई जाने गर्छ।’  

महिला स्वास्थ्य स्वयंसेविकाले ग्रामीण क्षेत्रका आमा र बच्चालाई सेवा पुर्‍याउन उपचारात्मक र प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा काम गर्दै आएका छन्। स्वयंसेविकाले गाउँमा गएर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने काम गर्ने गरेको निस्दी गाउँपालिका–४ मित्याल आमडाँडाकी महिला स्वास्थ्य स्वयंसेविका अनिसा मगरले बताइन्। उनका अनुसार हजार दिनका आमाको स्वास्थ्यसम्बन्धी काम, सुरक्षित मातृत्व, गर्भवतीको जाँच, महिलालाई काउन्सिलिङ, परिवार नियोजनका साधन वितरणलगायतका काम स्वयंसेविकाको जिम्मेवारीभित्र पर्छन्। 

महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिनको आधारभूत तालिम दिएर काममा लगाइने र हरेक चार वर्षमा पुनर्ताजगी तालिम दिइने निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले बताए।  

उनीहरूको सेवासुविधामा यातायात खर्चका रूपमा वर्षको १२ हजार रुपैयाँ र पोसाक भत्ता वार्षिक १० हजार रुपैयाँ रहेको छ। यसबाहेक प्रत्येक अभियानका बेला दैनिक चार सय रुपैयाँका दरले यातायात भत्ता पाउने गर्छन्। कतिपय पालिकाले मोबाइल सेट, मासिक रिचार्ज, पालिकासम्म प्रतिवेदन बुझाउन गएको यातायात खर्च पनि दिएका छन्। भिटामिन ‘ए’ कार्यक्रम, एचपीभी खोपजस्ता अभियानमा समेत यातायात खर्च दिइने गरेको निस्दीका स्वास्थ्य शाखा प्रमुख दिशा मगरले बताए।

स्वयंसेविकाले ६० वर्षमा अवकाश पाउँछन्। केही पालिकाले १० वर्ष सेवा गरेपछि थप रकम दिएर पनि अवकाश लिन चाहनेलाई सुविधा दिएका छन्। उनीहरूलाई अवकाश हुँदा सम्मानसहित बिदाइ गर्ने र संघीय सरकारले २० हजार रुपैयाँ उपलब्ध गराउने गर्छ।

लुम्बिनी प्रदेश सरकारले पनि ५० हजार रुपैयाँ दिने गरेको छ। यसैगरी स्थानीय सरकारले फरक–फरक सेवा सुविधा दिएर बिदाइ गर्छन्। पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ढकालका अनुसार १० वर्ष सेवा गरेपछि छाड्न चाहेकालाई २५ हजार रुपैयाँ दिने गरिएको छ। स्थानीय सरकारले अवकाशका बेला फरक–फरक सुविधा दिन्छन्। केहीले थप एक लाख रुपैयाँसम्म पनि दिने गरेका छन्।  

स्वास्थ्य स्वयंसेविकाका लागि क्षमता विकाससम्बन्धी तालिम, अभिमुखीकरणलगायत कार्यक्रम मात्रै आफ्नाे कार्यालयबाट सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए।

प्राथमिक स्वास्थ्य सेवालाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात गरिएको उनले बताए। ‘ग्रामीण भेगका महिलालाई शिक्षा र सिपमार्फत सशक्त बनाउन स्वयंसेविकाको भूमिका उल्लेख्य छ,’ निमित्त प्रमुख पोखरेलले भने, ‘ग्रामीण भेगमा जनस्वास्थ्य चेतना वृद्धि गर्ने, स्थानीय संस्थालाई स्वास्थ्य प्रवर्द्धनमा संलग्न गराउने काममा सहयोग पुगेको छ। विशेषगरी महिला तथा बाल स्वास्थ्यमा सुधार भएको छ।’

स्वास्थ्य कार्यालयमा गत आर्थिक वर्ष ६० वर्ष पुगेका महिला स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि ३ लाख रुपैयाँ बजेट प्रदेश सरकारबाट प्राप्त भएको उनले बताए।

तस्बिर : माधव अर्याल / कान्तिपुर

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully