शीतलहर बढेपछि सुनसान बने बजार

जाडोको कारण जिल्लाको मुख्य बजार बर्दघाट, भुमही, सुनवल, परासीलगायतका क्षेत्रमा चहलपहल घटेको छ।

पुस २०, २०८२

नवीन पौडेल

Markets become deserted as cold wave spreads

परासी — शीतलहर बढेपछि पश्चिम नवलपरासीको जनजिवन प्रभावित बनेको छ। कठ्याङ्ग्रिदो चिसोले बाहिर हिँडडुल गर्न स्थानीयलाई समस्या परेको छ।

जाडोको कारण जिल्लाको मुख्य बजार बर्दघाट, भुमही, सुनवल, परासीलगायतका क्षेत्रमा चहलपहल घटेको छ। मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन्।

शीतलहरले विशेष गरेर बालबालिका र बृद्धबृद्धालाई रुघाखोकी र ज्वरोको समस्या बढेको छ । जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकीका बिरामी बढेका छन्।

एक सातासम्म शीतलहर चलेर केही दिन घाम लागे पनि शनिबारदेखि फेरि हुस्सु लागेकाे रामग्राम नगरपालिका ११ का मोहन चौधरीले बताए। 

चिसाेकाे प्रभावले पूर्वपश्चिम राजमार्गमा सवारी दिउँसो नै बत्ती बालेर हिँड्नु परेको छ। विशेषगरी दाउन्ने खण्डमा हुस्सुले अगाडिको सवारी नदेखिने समस्याले गर्दा सवारीसाधन बत्ती बालेर हिँड्ने गरेका छन् । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully