यस वर्ष खाद्यको बर्दियास्थित राजापुर कार्यालयले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो ।
What you should know
बर्दिया — खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर कार्यालयले यो वर्षको लक्ष्य अनुसार ३० हजार क्विन्टल धान खरिद सकेको छ ।
यस वर्ष खाद्यको बर्दियास्थित राजापुर कार्यालयले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो ।
धान जोन रहेको बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा मात्रै झण्डै ८० हजार क्विन्टल धान उत्पादन हुने गर्छ। सरकारी कम्पनीले ३० हजार क्विन्टल मात्रै खरिद कोटा राख्दा अरु धान सस्तोमा व्यापारीलाई बेच्न बाध्य भएको किसानको गुनासो छ ।
राजापुर–४ का किसान हरि चौधरीले सरकारले धानको कोटा नबढाएसम्म किसान सस्तोमा धान बेच्न बाध्य हुने बताए । यस वर्ष धेरै किसानले खाद्यमा धान बेच्न पाएनन् ।
किसानको भिडलाई मध्यनजर राख्दै खाद्यले यो वर्ष कुपन प्रणाली लागु गरेको थियो । खाद्यको राजापुर कार्यालय प्रमुख कमल पाण्डेले सरकारले तोकेको कोटा अनुसार ३० हजार क्विन्टल धान खरिद गरेको बताए ।
राजापुर कार्यालयले गत कात्तिक १९ देखि धान खरिद गरेको थियो। यस वर्ष खाद्यले राजापुरबाहेक गुलरिया, शान्तिबजार र जयजगरमा धान खरिद डिपो स्थापना गरेको थियो । कुपन प्रणाली लागु भएपछि पनि भिड थाम्न नसक्ने अवस्था आएपछि राजापुर खाद्य केन्द्रमा केही दिनका लागि धान खरिद रोकेको थियो ।
धान बिक्री गर्दा किसानले वडाको सिफारिस, नागरिकता र लालपुर्जाको प्रतिलिपीसहित बिक्री केन्द्रमा पेश गर्नुपर्ने झन्झटिलो प्रावधान बनाएको किसानको गुनासो छ । यस वर्ष सरकारले मोटा धान ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेको छ ।
