बिहानैदेखि शीतलहरसँगै चिसो हावा चलेपछि जनजीवन प्रभावित बनेको हो ।
बर्दिया — १५ दिनपछि बिहीबार मधुरो घाम लागे पनि शुक्रबार बिहानदेखि बाक्लो हुस्सु र चिसो हावाले बर्दियाको जनजीवन थप प्रभावित भएको छ । बर्दियामा अत्यधिक चिसो र बाक्लो हुस्सुले जनजीवन कष्टकर बन्दै गएको छ ।
बिहानैदेखि शीतलहरसँगै चिसो हावा चलेपछि जनजीवन प्रभावित बनेको छ । बिहानदेखि हुस्सुले यातायात प्रभावित भएको थियो ।
थर थर कमाउने जाडोले दिनभर विशेष गरी साना साना विद्यार्थी र ज्याला मजदुरी गर्ने कामदार कठ्याङ्ग्रिन थालेका छन् । हुस्सुसँगै चलेको चिसोले बालबालिकासँगै ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन् । हुस्सुले दिउँसै अँध्यारो जस्तो हुने गरेको छ । 
अत्यधिक चिसोले बिरामी पनि बढ्न थालेको चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालमा रुघा, खोकी, दम, ज्वरो आउने, निमोनियाका बिरामी बढेको डाक्टर कृष्ण खनालले बताए । 'जाडो बढेयता अस्पतालमा दैनिक ३ सय देखि ३ सय ५० जना बिरामी आउने गरेको छ,' उनले भने, 'चिसो बढ्दै गएपछि बिरामीको संख्या बढ्दै गएको हो ।'
स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।
