शान्तिस्थल लुम्बिनीबाट सुरु भयो युवा पुनर्जागरण अभियान

फ्युचर्स लिडरसिप नेटवर्क नेपालले युवालाई समेटेर हिंसाविहीन समाज निर्माणका लागि देशभर पुनर्जागरण अभियान सुरु गरेको छ, जसमा ७ प्रदेशका गाउँ–बस्ती पुगिनेछ।

पुस १६, २०८२

मनोज पौडेल

Youth Renaissance Campaign Begins from Lumbini, the Place of Peace

What you should know

लुम्बिनी — मुलुकमा शान्ति, स्थायित्व, राजनीतिक स्थिरता कायम गर्दै हिंसाको चपेटाबाट मुक्त पार्न युवाले पुनर्जागरण अभियान सुरु गरेका छन् ।

देशका कुना–काप्चामा पुगेर अन्तरक्रिया र सभा गरी युवालाई परिवर्तनको शान्तिपूर्ण अभियानमा जोड्न मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियान सुरु गरिएको हो ।

जेनजी आन्दोलनपछि युवापुस्तालाई शान्तिपूर्ण राजनीतिमा चासो दिलाई उनीहरूको सहभागिता बढाउन युवाहरूको अग्रसरतामा गठित ‘द फ्युचर्स लिडरसिप नेटवर्क नेपाल’ ले हिंसा उन्मुख नकारात्मक संस्कृतिलाई बदल्न पुनर्जागरण अभियानको थालनी गरेको हो ।

जेनजी आन्दोलनमा दाहिने हात गुमाएका सञ्जीव सापकोटा, अभियन्ता निगम हुमागाईँ, लेखक तथा पत्रकार घनश्याम खड्का, युवा नेतृद्वय प्रकृति ढकाल, मीनाकुमारी ठाकुर, अभियन्ता इन्द्रजित साफी, जलस्रोत विज्ञ देवेश बेलवासे र अधिवक्ता आयुषा कँडेललगायत जेनजी तथा जेन वाइ पुस्ताका युवाहरूको समूहले मंगलबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गरी अभियान सुरु गरेका थिए ।

त्यसलगत्तै उनीहरूले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित विश्राम बाटिका पुगेर आमसभा तथा अन्तरक्रिया गरेका थिए । देश गम्भीर राजनीतिक संकटमा फसेको र युवा आक्रोशलाई उपयोग गरेर स्वार्थ समूहले फेरि मुलुकमा अशान्ति मच्चाउने जोखिम र खतरा बढेकाले जनस्तरमा सचेतना गर्न पुनर्जागरण अभियान चलाउँदै आफूहरू गाउँ–बस्तीमा पुग्ने अभियानमा हिँडेको फ्युचर्स लिडर नेटवर्कका अध्यक्ष निगम हुमागाईँले बताए ।

पुस १९ गते मधेश प्रदेशको वीरगन्जमा अन्तरक्रिया र सभा गर्छौँ, उनले भने, ‘यसैगरी ७ प्रदेशका गाउँ–बस्ती पुग्छौँ । युवालाई निराशाबाट आशा र आक्रोशबाट सुझबुझको बाटोतिर डोर्‍याउँछौँ,’ अध्यक्ष हुमागाईँले भने, ‘तिक्तता मेटाएर तिन करोड नेपाली सबैलाई देश बनाउने पवित्र संकल्पमा जोड्छौँ ।’

कार्यक्रममा माइन्डफुल लिभिङ अभियानका प्रवर्तकसमेत रहेका लेखक तथा पत्रकार घनश्याम खड्काले हिंसाले सत्ता बदले पनि त्यसले संस्कार भने बदल्न नसक्ने हुँदा शान्ति र विकासका लागि पुनर्जागरण नै एक मात्र उत्तम उपाय भएको बताए । ‘हामीले सबै व्यवस्था बदल्यौँ तर भ्रष्टाचार र कुशासन बदल्न सकेनौँ,’ उनले भने, ‘किनभने व्यक्ति बदलिए पनि प्रवृत्ति उस्तै रह्यो । मन रूपान्तरण नभएसम्म हिंसा र लोभले प्रश्रय पाउँछ । त्यसैले व्यवस्था बदल्नु भन्दा मनको अवस्था बदल्नु जरुरी छ,’ उनले भने ।

भदौ २४ को घटनामा दाहिने हात गुमाएका जेनजी अभियन्ता सञ्जीव सापकोटाले देशको मुहार फेर्न आफू राष्ट्रिय पुनर्जागरण अभियानमा जुटेको बताए । ‘देश बदल्न खोज्दा मैले एउटा हात गुमाउन पुगेँ,’ सापकोटाले भने, ‘अब म एउटा हातले ताली बजाउन सक्दिन, मलाई तपाईँहरूको अर्को हातको जरुरी छ, त्यो भनेको सहकार्य र सहअस्तित्व नै हो ।’

कार्यक्रममा जेनजी नेतृ प्रकृति ढकाल, जलस्रोतविद् इन्जिनियर देवेश बेलवासे, अभियन्ता इन्द्रजित साफी, जेनजी नेतृ मिनाकुमारी ठाकुर, स्थानीय जेनजी युवा सुरज पोखरेल र शंकर भुसाललगायतले हिमाल, पहाड र तराई सबै भूगोलका बासिन्दालाई भावना र विचारको एउटै मालामा गाँसेर देशलाई संकटबाट उम्काउन विवेकपूर्ण सहकार्यमा जुट्न पुनर्जागरण अभियान थालिएको कुरामा जोड दिएका थिए ।

‘नेपाल, गौरवपूर्ण इतिहास, वर्तमान र भविष्य’ विषयमा विविध कोणबाट छलफल र अन्तर्संवादको यो अभियान सुरुमा तराई र त्यसपछि पहाड तथा हिमालका जिल्लामा पुग्ने अध्यक्ष हुमागाईँले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully