गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन ढिलाइ नगरियोस् : मुख्यमन्त्री आचार्य

काठमाडौंस्थित त्रिभुवन विमानस्थलभन्दा सुविधा र प्रविधिका हिसाबले गौतमबुद्ध विमास्थल एक कदम अगाडि रहेको निमित्त महाप्रबन्धक श्यामकिशोर साहको दाबी ।

पुस १६, २०८२

दीपेन्द्र बडुवाल

There should be no delay in operating Gautam Buddha International Airport: Chief Minister Acharya

What you should know

भैरहवा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ नगर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार भैरहवास्थित विमानस्थल परिसरमा नागरिक उड्डयन प्राधिकरणको २७औं स्थापना दिवस समारोहमा बोल्दै जुन लक्ष्य र उद्देश्यले विमानस्थलको निर्माण गरिएको हो, त्यही भावनाअनुसार सञ्चालन गर्न माग उनले गरे । 

‘पटक–पटक विमानस्थल चलाउनुपर्छ भनेर संघीय सरकारको ध्यानाकर्षण गराउनेदेखि डेलिगेसन गयौं,’ उनले भने, ‘तर, सोचेजस्तो परिणाम आएन, अहिले पनि हामी त्यसमा प्रयत्नशील छौं ।’ विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारले कति जिम्मेवारी लिनुपर्ने हो र कस्तो भूमिका खेल्नुपर्ने हो, स्पष्ट पार्न पनि उनले आग्रह गरे । संघीय सरकारले दिने भूमिका अनुसार काम गर्न तयार रहेको उनले बताए । 

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तोसुकै जहाज उडान/अवतरण हुने क्षमता रहेको जनाउँदै उनले यहाँ उपलब्ध सुविधाको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न जरुरी रहेको बताए ।

‘निर्माण गर्ने बेला विमानस्थल बन्छ कि बन्दैन भन्ने बहस हुन्थ्यो,’ उनले भने, ‘अहिले चल्छ कि चल्दैन भन्ने बहस भइरहेको छ ।’ हवाई कूटनीतिका माध्यमबाट भए पनि विमानस्थल सञ्चालनका लागि भूमिका खेल्न सरोकारवालाको ध्यानाकर्षण गराए । 

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले काठमाडौंस्थित त्रिभुवन विमानस्थलभन्दा सुविधा र प्रविधिका हिसाबले गौतमबुद्ध विमास्थल एक कदम अगाडि रहेको बताए । २०७९ वैशाख ८ गतेबाट सञ्चालनमा आएको विमानस्थलबाट नियमित उडान सञ्चालन नहुँदा निराशा छाएको बताए । ‘तर त्रिभुवन विमानस्थलको यात्रुको चाप भैरहवाले शेयर गर्न सकेको छैन,’ उनले भने, ‘हवाई कम्पनीलाई विभिन्न सेवामा छुट दिँदासमेत आकर्षित भइरहेका छैनन् ।’ सरकारले भैरहवालाई कार्गो हब बनाउने नीति लिए पनि कार्यान्वयन हुन नसकेको उनले बताए । 

विमानस्थलबाट नियमित उडान सञ्चालनका लागि सरकारलाई अनुरोध गर्नेदेखि कूटनीतिक पहल भइरहेकाले सन् २०२६ को अन्त्यसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको संख्या वृद्धि हुने उनले बताए । ‘अर्को वर्ष वार्षिकोत्सव आयोजना गर्दा हामी अन्तर्राष्ट्रिय उडानविहीन हुने छैनौं,’ उनले भने, ‘हामीले कतारी दूतावासका साथै भारतका विभिन्न सहरमा उडान सञ्चालनका लागि पहल गरिरहेका छौं ।’ 

विमानस्थल सञ्चालन महाशाखा प्रमुख मुरारीप्रसाद पौडेलले गत कार्तिक ९ गतेबाट थाई एयर एसियाले भैरहवा–बैंकक सातामा दुई दिन उडान भरिरहेको जानकारी दिए । त्यसबाहेक नेपालले कतार सरकारलाई उपहार प्रदान गरेका दुई हात्तीलाई पनि कतार एयरवेजको जहाजमार्फत भैरहवाबाटै पठाइएको थियो । यसबाट भैरहवामा ठूला जहाजले सेवा दिन सक्ने पुष्टि भएको उनले बताए ।

‘भैरहवामा निजी क्षेत्रले मात्र होइन, सरकारले पनि अर्बौं लगानी गरेको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालन नभए निजी क्षेत्रमात्र होइन, सरकार पनि डुब्ने अवस्था छ ।’ त्यसैले जतिसक्दो छिटो विमानस्थल चलाउन ‘एभिएसन डिप्लोमेसी’ अपनाउनु पर्ने उनले बताए । 

वार्षिकोत्सव समारोहमा विमानस्थलभित्रका कार्यालय प्रमुख, उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सरकार कार्यालय र सुरक्षा प्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा वार्षिकोत्सव अवधिमा आयोजना गरिएका विभिन्न खेलका विजेता र उपविजेतलाई पुरस्कृत गरिएको थियो । 

दीपेन्द्र बडुवाल

Link copied successfully