बर्दियामा रोकिएन चितुवा आतंक

बच्चा जन्माउन थालेपछि झन बढ्यो त्रास

पुस १५, २०८२

कमल पन्थी

Leopard terror continues in Bardiya

What you should know

बर्दिया — यस चालु आर्थिक वर्षमा बारबर्दिया, गुलरिया, मधुवन र राजापुर नगरपालिकाको गाउF र सामूदायिक वनमा चितुवाको आतंकले स्थानीयवासी त्रसित भएका छन् ।

चितुवाले बस्तीदेखि वनमा घाFस दाउरा गर्न गएका माथि आक्रमण गर्दा सोही अवधीमा ५ जनाको ज्यान गएको छ ।

पछिल्लो पटक पुस ९ गते चितुवाको आक्रमणमा परि बारबर्दिया नगरपालिका–१० बैदीकी पार्वती डांगीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषले समस्याग्रस्त चितुवा नियंत्रणमा लिन ४ वटा केज राखे पनि नियन्त्रणमा लिन सकेको छैन । 

सोही अवधिमा बारबर्दियामा चितुवाको आक्रमणमा परि तीनजनाको मृत्यु भएको छ । अन्य दुई जना चितुवाको आक्रमणमा परि गुलरिया नगरपालिकामा मृत्यु भएको छ । डेढ वर्षयता डिभिजन वन कार्यालय, बर्दियाले समस्याग्रस्त तीन वटा चितुवा नियन्त्रणमा लिएको छ ।

चितुवासँग भारतबाट आउने हात्ती र बाघको आतंकले निकै त्रसित भएको राजापुर–१० का रविन्द्र खत्रीले बताए । ‘सरकारले चाँडोभन्दा चाँडो समस्याग्रस्त वन्यजन्तुलाई नियंत्रणमा लिनु पर्छ,’ उनले भने, ‘पहिले वन्यजन्तुको त्रासले रातभर जाग्राम बस्थ्यौं । अहिले दिउँसै गाउँ घरमा पस्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको छ ।’

बर्दिया वन कार्यालय आसपासमा अहिले चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् । चितुवाका कारण खेत र घाँस काट्न वनमा जान पनि नसकेको राजापुरर नगरपालिका–१० का पूर्व बडघर विष्णु थारु बताउँछन् । चितुवाको संख्या विगत पाँच वर्षदेखि बढ्दै गएको छ ।

पाँच वर्ष यता १२ जनाको ज्यान चितुवाले लिइसकेको छ । बर्दियामा चितुवाको संख्या एकिन नभए पनि उखुबारी र वनमा प्रायः चितुवा भेटिन्छ । बर्दियामा चितुवाको आतंक निकै बढी भएको खाता वन समितिका अध्यक्ष हरी गुरुङ बताउँछन् ।

‘यसबाट जोगिन सतर्कता अपनाउन  पर्छ,’ उनले भने, ‘यो मौसम चितुवाले मिट गर्ने समय भएकोले सचेत हुन जरुरी छ ।’ चितुवा नियन्त्रण लिने काम भए पनि यस्को व्यवस्थापन गर्न चुनौती रहेको डिभिजन वन कार्यालयको छ ।

जिल्ला वन प्रमुख विजय राज सुवेदीले वन्यजन्तुको समस्या जटिल भएकोले अल्पकालीन र दीर्घकालीन कार्यक्रम गरिरहेको बताए । चेतना बढाउने, वन र आवादी बीचमा तारबार लगाउने र वनलाई जोगाउने, समस्याग्रस्त वन्यजन्तुलाई समातेर अन्यत्र राख्ने लगायत वन्यजन्तुको वासस्थानलाई सुधार गर्ने काम भइरहेको उनको भनाइ छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully