१५ बुँदे घोषणापत्र जारी गर्दै समाचार महोत्सव सम्पन्न

सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका सम्भावना संचार क्षेत्रबाट प्राथमिकताका साथ उठाइने ।

पुस १४, २०८२

मनोज पौडेल

News Festival concludes with the issuance of a 15-point manifesto

What you should know

लुम्बिनी — नेपाल र भारतका सय बढी सञ्चारकर्मीले बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक तीर्थस्थल मात्र नभई विश्वभरकै महत्त्वपूर्ण पर्यटकीय स्थलसँगै सांस्कृतिक र शान्ति संवाद केन्द्रका रूपमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

लुम्बिनीमा पुस १२ गतेदेखि सुरु भएको समाचार महोत्सव अर्थात् तेस्रो न्युज फेस्टिवल १५ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।

राजकुमार सिद्धार्थको प्रतिमा स्थल बेबी बुद्धमा आयोजित कार्यक्रममा तथ्यमा आधारित, जिम्मेवार र सकारात्मक पत्रकारितामार्फत नेपाल–भारत सीमापार सम्बन्धलाई सुदृढ गर्न सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने र मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिवललाई नियमित र दिगो प्लेटफर्मका रूपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथि रहेको समापन कार्यक्रममा लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले घोषणापत्र पढेर सुनाएका थिए । त्यस्तै लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै संचार क्षेत्रको भूमिकालाई सशक्त बनाउने र लुम्बिनीको पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र आर्थिक विकासका लागि जिम्मेवार निकाय बीच सहकार्य बढाउन भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै सीमावर्ती क्षेत्रका साझा समस्या, अवसर र सहकार्यका सम्भावना संचार क्षेत्रबाट प्राथमिकताका साथ उठाउने, नेपाल–भारत पत्रकारबीच अनुभव आदानप्रदान, सहकार्य र संयुक्त अध्ययनलाई निरन्तरता दिन क्षेत्रीय पत्रकार सञ्जाल विस्तार गर्ने तथा लुम्बिनी न्युज फेस्टिवलमा आएका सुझाव र निष्कर्षलाई कार्यान्वयनमा लैजान नियमित अनुगमन र संवादको संयन्त्र विकास गर्ने लगायत घोषणापत्रमा समेटिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले शनिबारबाट बुद्ध जन्मस्थलमा सुरु भएको तेस्रो न्युज फेस्टिवलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा भारतको सिक्किम, नयाँ दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर, महाराजगन्जबाट स्थानीय र राष्ट्रिय स्तरका ४० पत्रकार सहभागी थिए ।

तेस्रो न्युज फेस्टिवलमा ‘सीमापार सम्बन्ध : आवश्यकता र संभावना’, ‘लुम्बिनी : लगानी र पर्यटनको सामर्थ्य’ र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा विज्ञ, अध्येता, उद्योगी, पर्यटन उद्यमी र वरिष्ठ संचारकर्मीको सहभागितामा समूहगत छलफल गरिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully