पत्रकारिताका लागि अनुभव मात्र नभई विषयगत शैक्षिक योग्यता पनि हुनुपर्ने र महिलाका विषयमा समाचार लेख्न, महिलाका मुद्दा उठाउन महिला पत्रकार नै चाहिन्छ भन्ने मान्यता राख्न नहुने पत्रकारिताकी अध्येता मीनाक्षी न्यौपानेको जिकिर ।
What you should know
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी न्युज फेस्टिबलअन्तर्गत आइतबार मध्यान्ह ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको तेस्रो लुम्बिनी न्युज फेस्टिवलअन्तर्गतको दोस्रो सेसनको छलफल कार्यक्रममा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले सूचनाको दोहोरो–तेहोरो प्रमाणीकरण (भेरिफाइ) र समाचारको तहगत सम्पादन गर्नु अपरिहार्य हुने बताए । सूचनाको भेरिफाइ र बिनासम्पादन प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटनासमेत निम्त्याउनेतर्फ सधैं सजग बन्नुपर्ने उनको भनाइ थियो ।
मिडियाले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन अंगलाई निगरानी गर्ने र उनीहरूबीच पुलको काम गर्ने भएकाले मिडियालाई चौथो अंग भनिएको उनको जिकिर छ । ‘मिडियाहरू बढी अधिकारमुखी मात्र भएर पुग्दैन, जिम्मेवारमुखी हुनु पनि उत्तिकै जरुरी छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ,’उनले भने, ‘पत्रकारले आफ्नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’
अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारीले मिडियाले सधैं सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिए । भण्डारीले मिडिया र पत्रकारले क्षमायाचना (सरी भन्न) र धन्यवाद भन्न कन्जुस्याइँ गरिरहेको औंल्याए । मिडियामा प्रविधिको प्रयोगलाई सकारात्मक रुपमा लिनुपर्ने भण्डारीको सुझाव थियो । प्रविधिले पछाडि नभई अगाडि नै लैजाने भन्दै भण्डारीले प्रविधिसँग हिँड्न नसके मिडियाहरू डाइनोसर बन्ने औंल्याए ।
उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले मिडिया सरकार र निजी क्षेत्र दुवैका लागि ऐना भएको बताए । तर सत्य सूचना दिन नसक्दा मिडियाको विश्वसनियता घटेको भन्दै उनले सत्य सूचना छनोट गरेर मात्र समाचार प्रवाह गर्न आग्रह गरे ।
युवाहरूको विदेश पलायनलाई नकारात्मक मात्र नभई त्यहाँबाट ज्ञान, सीप सिकेर देशमा लागू गरेका सकारात्मक सूचना पनि बाहिर ल्याउनुपर्ने शर्माको आग्रह थियो । सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, लागु औषध कारोबार र बुद्ध नेपालमा जन्मेको बारे भारतीय मिडियाले पनि कलम चलाउनुपर्ने आवश्यकता शर्माले औंल्याए ।
पत्रकारिताकी अध्येता मीनाक्षी न्यौपानेले मिडियामा काम गर्ने सबै पत्रकार नहुने विषयमा सबै स्पष्ट हुनुपर्ने बताइन् । समाचारको काम गर्ने मात्रै पत्रकार हुने र पत्रकारमा विशेष ज्ञान र दक्षता हुनुपर्ने उनको भनाइ थियो । पत्रकारिताका लागि अनुभव मात्र नभई विषयगत शैक्षिक योग्यता पनि हुनुपर्ने उनले बताइन् । महिलाका विषयमा समाचार लेख्न, महिलाका मुद्दा उठाउन महिला पत्रकार नै चाहिन्छ भन्ने मान्यता राख्न नहुने न्यौपानेले बताइन् ।
छलफल कार्यक्रममा प्रश्न गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मिडियाको जिम्मेवारी र जवाफदेहीताको प्रमुख काम राज्यलाई निरन्तर प्रश्न सोध्ने र बेथिति विरुद्ध खबरदारी गर्ने भएकामा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण आयोजक लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल गरेका थिए ।
