लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खालबाहिर निस्कन नसकेको गुनासो गरेकी छन् ।
What you should know
काठमाडौँ — बुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
लुम्बिनीमा आइतबार आयोजित ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’अन्तर्गत ‘लुम्बिनी : लगानी र पर्यटनको सामर्थ्य’बारे भएको छलफलमा लुम्बिनीको गुरुयोजनामै यो ठाउँलाई पवित्र उद्यान (बगैंचा) का रूपमा परिभाषित गरिए पनि त्यसअनुसार हुन नसक्नु विडम्वना भएको औंल्याएका हुन् ।
कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रूपेश श्रेष्ठले लुम्बिनीको पर्यटन विकासका लागि पर्यटकमैत्री नीति, प्रडक्ट र व्यवहार हुनुपर्ने औंल्याए । पर्यटनमा लगानी सरकारले नभई व्यवसायीले गर्ने र पर्यटन विकासको वातावरण र नीतिगत सहजता सरकारले बनाइदिनु पर्ने श्रेष्ठको भनाइ थियो । लुम्बिनीका उद्यानहरूलाई विश्वभरका बौद्धमार्गीहरू आएर ध्यान गर्ने ध्यान केन्द्र बनाउन राज्य र निजी क्षेत्रले विशेष योजना बनाउनुपर्ने श्रेष्ठले सुझाव दिए ।
गुरुयोजनामा उल्लेख पवित्र उद्यानको मूल मर्म लुम्बिनीलाई अन्य पर्यटन नभई आध्यात्मिक पर्यटन केन्द्र बनाउने रहेको लुम्बिनीका अगुवा होटल व्यवसायी लीलामणि शर्माले बताए । उनले लुम्बिनीलाई विश्वभरका एक अर्ब बौद्धमार्गीको आकर्षणको केन्द्र बनाउन सरकारले विशेष योजना र नीति बनाउनुपर्ने बताए । ‘आध्यात्मिक टुरिजम नै लुम्बिनीको सामर्थ्य हो,’शर्माले भने,‘गुरुयोजना अनुसार सिंगो लुम्बिनीलाई पवित्र बगैंचाका रुपमा विकास गर्न सके विश्वभरका एक अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी र मायादेवी मन्दिर बन्न सक्छन् ।’
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले सरकार र लुम्बिनी विकास कोषको ध्यान र लगानी कोषको चार पर्खाल बाहिर निस्कन नसकेको गुनासो गरिन् । पुरातात्विक स्थल उत्खननमा मात्र राज्यको लगानी भएको औंल्याउँदै उनले संघीय र प्रदेश सरकारले लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन् । लुम्बिनीमा बर्थिङ हस्पिटल बनाउन विदेशी लगानी भित्र्याउने प्रक्रिया अघि बढेको उनले बताइन् । फोहोरको दिगो व्यवस्थापन प्रक्रिया अघि बढेकाले अब विदेशी लगानी भित्रिन सहज भएको हरिजनको भनाइ थियो । उनले नगरपालिकाले आफ्नै बजेटमा ध्यान केन्द्र बनाएको र पर्यटन सूचना केन्द्र स्थापना गरेको पनि सुनाइन् ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले विश्व सम्पदा स्थल लुम्बिनी बौद्ध शिक्षा, शान्ति र सहअस्तित्वको केन्द्रको रुपमा विकास हुनुपर्ने स्थल भएको बताए ।
लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको निर्देशन र नेपाल सरकारको योजना र बजेटभन्दा बाहिर गएर जथाभावी लगानी र काम गर्न पाउँदैन भन्ने तथ्य बिर्सन नहुने राईले आग्रह गरे । यस सेसनको सहजीकरण क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले गरेका थिए ।
न्यूज फेस्टिवलमा यसअघि ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा छलफल भएको थियो ।
