खेतमा देखिएको चितुवा स्थानीयले घेरा हालेर लिए नियन्त्रणमा

आइतबार बिहानै चितुवा गहुँबारीमा आएपछि ठूलो संख्यामा भेला भएका गाउँलेले घेरा हालेर राखेका थिए ।

पुस १३, २०८२

कमल पन्थी

बर्दिया — राजापुर नगरपालिका–१० कर्मनीमा गहुँबारीबाट स्थानीयले घेरा हालेर चितुवालाई नियन्त्रणमा लिएका छन् ।

आइतबार बिहानै चितुवा गहुँबारीमा आएपछि ठूलो संख्यामा गाउँलेले घरेर राखेका थिए । उक्त चितुवालाई डिभिजन वन कार्यालयको समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बेहोस पारेर नियन्त्रणमा लिएको हो ।

सिमावर्ती भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबाट वस्तुभाउ चराएर फर्किने बेला शनिबार बेलुकी घरनजिक चितुवाको आक्रमणमा सोही ठाउँका ५२ वर्षीय हेमराज बुढाथोकी घाइते भएका थिए ।

लगातार आक्रमणका घटना हुन थालेको भन्दै स्थानीयले चितुवा आतंक नियन्त्रणको माग गर्दै आएका थिए ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले नियन्त्रणमा लिएको चितुवा आफ्नो कार्यालयमा राखिएको बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully