फेस्टिवलमा छिमेकी मुलुक भारतबाट ४० जनासहित दुई सय बढी पत्रकारको सहभागिता छ ।
What you should know
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब भैरहवाको आयोजनामा लुम्बिनीमा न्यूज फेस्टिवल सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार सञ्चालित तेस्रो लुम्बिनी न्युज फेस्टिबलमा तीन सत्रमा छलफल सुरु भएको छ ।
फेस्टिवलमा छिमेकी मुलुक भारतबाट ४० जनासहित दुई सय बढी पत्रकारको सहभागिता छ । कार्यक्रममा उद्योगी, व्यवसायी, सामाजिक संघसंस्थाको पनि बाक्लो उपस्थिति छ ।फेस्टिवलको पहिलो सेसनमा ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’ विषयमा छलफल भएको छ ।
यो सेसनको सहजकर्ता लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले गरेका थिए । सेसनमा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक रहेको बताइन् । 'दैनिक जीवनसँग जोडिएका सवाल, दुई देशबीच कस्तो नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण हुनेछ' उनले भनिन्, 'नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न आवश्यक छ । दुई देशका विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नुपर्छ, यसले दुबै देशका पत्रकार असुरक्षित हुन्छन् ।' मिथ्या र गलत सूचना प्रवाह रोक्न पनि यस्ता बहस र छलफल जरुरी भएको उनले बताइन् ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेलले पत्रकारिताले समस्या मात्र देखाउने हैन, समाधान दिनुपर्ने बताए । 'दुई देशबीच देखिने गलत बुझाइलाई चिर्न मिडियाले सक्नुपर्छ । अप्रमाणित सूचना प्रवाह गर्नु हुँदैन । दुई देशबीचको द्वन्द्वमा मिडियाले शान्ति पत्रकारिता गर्नु आवश्यक छ,' उनले भने, 'पत्रकार र मिडियाले आमाले छोराछोरीलाई म तिमीलाई माया गर्छु भने पनि प्रश्न गर्न र साँच्चै माया गरेको हो होइन भेरिफाइ गर्नुपर्छ ।'
भारतीय पत्रकार सञ्जय सिंहले साथी बदल्न सकिन्छ तर छिमेकी बदल्न नसकिने बताउँदै नेपाल दुई ठूला शक्ति राष्ट्रको बीचमा भए पनि भारतसँग सांस्कृतिक सम्बन्ध रहेको र यसलाई थप प्रगाढ बनाउन आवश्यक रहेको बताए ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भीम रावतले टाढाका देउताभन्दा नजिकको भुत काम लाग्छ भन्ने उखानबाट मन्तव्य सुरु गरेका थिए । 'दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक छ । सिक्किम र नेपाललाई दुई देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिन्छ,' उनले भने, 'कन्चनजंगा पार्क र चितवन राष्ट्रिय निकुन्जको पर्यटन प्रवद्र्धनमा दुई देशबीच साझेदारी गर्न सकिनन्छ ।' सिक्किमलाई विश्वकै पहिलो अर्गानिक राज्य, कन्चनजंघाको राज्य भनेर चिनाउन चाहने पनि उनले सुनाए । 'लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ ।
गोष्ठी, सेमिनारमार्फत दुई देशका नीति निर्मातालाई जोड्न सकिन्छ,' उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमले वेद र बुद्ध नेपाल र भारत दुवै देशका साझा सम्पदा भएको बताए । 'दुई देशबीचको सम्बन्ध अरू देशसँगको भन्दा बेग्लै र छुट्टै महत्वको रहेको छ,' उनले भने ।
