अर्घाखाँचीमा महामन्त्री थापा निकटको कांग्रेस युथ भेला

भेलालाई सम्बोधन गर्दै कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनालले महाधिवेशनमा थापाको नेतृत्वमा कांग्रेस चुनावमा गए पार्टीले बहुमत ल्याउने दाबी गरे ।

पुस १३, २०८२

वीरेन्द्र केसी

Congress Youth Gathering Close to General Secretary Thapa in Arghakhanchi

अर्घाखाँची — कांग्रेस महामन्त्री गगन थापा समर्थित समूहले सन्धिखर्कमा शनिबार युथ भेला गरेको छ । जिल्ला युथ भेला समूहले आयोजना गरेको कार्यक्रममा आसन्न १५ औं अधिवेशन तयारीस्वरूप गरिएको भेलाको ब्यानरमा थापाको फोटो राखिएको थियो । 

भेलामा कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, सदस्य शान्ता भण्डारी, जिल्ला सभापति केशव श्रेष्ठसहित जिल्ला पार्टीका केही पदाधिकारी, सदस्य र युवाहरू सहभागी थिए । 

कांग्रेस प्रदेशसभा २ का उपसभापति अर्जुन पोखरेलको अगुवाइमा भएको भेलालाई सम्बोधन गर्दै खनालले महाधिवेशनमा थापाको नेतृत्वमा कांग्रेस चुनावमा गए पार्टीले बहुमत ल्याउने दाबी गरे । उनले अब युवालाई साथमा नलगेसम्म अर्घाखाँचीमा पनि संसदीय चुनाव जित्न असम्भव भएको टिप्पणी गरे । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खनालसहित आठ जनाको नाम सिफारिस भएको छ । भेलामा सिफारिसमा परेका खनालबाहेक अरु उम्मेदवार उपस्थित थिएनन् । 

चुनावअघि नै पार्टीको महाधिवेशन गरेर पार्टी नेतृत्वमा र चुनावमा नयाँ अनुहारका उम्मेदवार लिएर मत माग्न गए मात्रै जनताले रुचाउने उनको दाबी छ । गगन समूहमा खुलेका खनाल, श्रेष्ठसहित अन्य नेताहरू यसअघि शेखर कोइराला निकट थिए । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गगनतिर लागेपछि खनाल सहितको अर्घाखाँचीको टिम पनि त्यतै लागेको हो । खनाल अर्घाखाँची कांग्रेसमा निर्णायक र प्रभावशाली मानिन्छन् । 

सभापति श्रेष्ठसहितका युवाले कांग्रेस नेतृत्वमा गगनको विकल्प सोच्न नहुने तर्क गरे । उपस्थित युवाले गगनलाई समर्थन नगर्ने नेतालाई पार्टीको जिम्मेवारी र संसदको टिकटमा राक्ने चेतावनी दिएका छन् ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully