आजबाट लुम्बिनीमा समाचार महोत्सव

प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेका अनुसार शनिबार साँझ सहभागीका लागि साइसिन र मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनको कार्यक्रमबाट फेस्टिवलको सुरुवात गरिनेछ ।

पुस १२, २०८२

दीपेन्द्र बडुवाल

News Festival in Lumbini from today

What you should know

भैरहवा — लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यसहित शनिबारबाट बुद्ध जन्मस्थलमा तेस्रो समाचार महोत्सव अर्थात् लुम्बिनी न्युज फेस्टिवल सुरु हुँदैछ । 

रूपन्देहीस्थित लुम्बिनी प्रेस क्लबको आयोजनामा तीन दिन सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका सञ्चारकर्मीको सहभागिता छ । यसअघि २०७६ र २०८० सालमा फेस्टिवल आयोजना गरिएको थियो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले २०७६ मंसिरमा आयोजना गरिएको पहिलो फेस्टिवलमा काठमाडौंस्थित मूलधारका ५० भन्दा बढी सम्पादक तथा पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधि र मुलुकभरबाट सञ्चारकर्मी गरेर तीन सय जनाको सहभागिता रहेको बताए । दोस्रो पटक स्थानीय रूपमा कार्यक्रम आयोजना गरिएको थियो । 

‘यसपटक भारतबाट मात्रै ४० जना पत्रकार सहभागी हुँदैछन्,’ उनले भने, ‘काठमाडौंबाट आधा दर्जन अग्रज पत्रकार सहभागी छन् ।’ उनका अनुसार भारतका सिक्किम, नयाँ दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर, महाराजगन्जबाट स्थानीय र राष्ट्रिय स्तरका पत्रकार सहभागी हुनेछन् । काठमाडौंबाट प्रेस काउन्सिल नेपालका अध्यक्ष, पत्रकार महासंघका अध्यक्ष र यसअघि कार्यक्रममा सहभागी नरहेका अग्रज पत्रकारलाई आमन्त्रित गरिएको छ । यसबाहेक चितवन, पोखरा र बर्दियाका पर्यटन तथा सञ्चारकर्मीको सहभागिता रहने रायमाझीले बताए । 

प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेका अनुसार शनिबार साँझ सहभागीका लागि साइसिन र मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनको कार्यक्रमबाट फेस्टिवलको सुरुवात गरिनेछ । आइतबार बिहान ८ बजे मुख्यमन्त्री चेतनारायण आचार्यले फेस्टिवलको उद्घाटन गर्नेछन् । त्यसपछि नेपाल–भारतका सञ्चारकर्मी, पर्यटन सरोकारवालाको सहभागितामा विभिन्न शीर्षकमा तीन सत्र सञ्चालन गरिनेछन् ।

सोमबार बिहान लुम्बिनीको पर्साचोकबाट मायादेवी मन्दिरसम्म पिस हेरिटेज वाक आयोजना गरिएको छ । त्यसपछि एक घण्टा पत्रकार आचारसंहिता अनुशिक्षण रहेको छ । त्यसपछि फेस्टिवलको समापन लगत्तै लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस मनाएर कार्यक्रम सकिने महासचिव न्यौपानेले बताए ।

दीपेन्द्र

Link copied successfully