आगजनी घटना : सोधपुछका लागि ६ जना नियन्त्रणमा

आगजनीबाट मानविय क्षति नभए पनि घर पूर्ण र आंशिकरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

पुस १२, २०८२

कमल पन्थी

Arson incident: 6 people taken into custody for questioning

What you should know

बर्दिया — पाँच जनाको घरमा आगजनी गरेको आरोपमा सोधपुछका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सदरमुकाम गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति एकै परिवारका आफन्तसहित पाँच घर टहरामा आगजनी गरेका थिए ।

सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी सुरु गरेपछि उनका आफन्तको घरमासमेत आगो लगाएको ईस्लाम बेहनाले जनाए । आगजनी हुनासाथ ज्यान जोगाउँदै बेहना परिवारका १० सदस्य भागेर ज्यान जोगाएका थिए । 

आगजनीबाट मानविय क्षति नभए पनि घर पूर्ण र आंशिकरुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगजनीबाट अख्तर बेहना, शायरा बानु, गुडउ बेहना र सद्दाम बेहनाको घरमा आगजनी भएको हो । आगजनी गर्न ठूलो संख्यामा मानिस आएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी देवेन्द्र कमार मल्लले अन्तर धार्मिक जातिय प्रेम सम्बन्ध भई महिलालाई भगाएको विषयलाई लिएर बेहनासहितको घरमा अज्ञात समूहले आगजनी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । 

उनले घटनाका सम्बन्धमा सोधपुछका लागि ६ जनालाई नियन्त्रणमा लिएको जनाए । यहाँ सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी यहाँ तैनाथ गरिएको छ । गाउँमा त्रासको माहोल छ । राति पौने नौ बजे आगजनीको सूचना पाउन साथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट उक्त घरमा रहेको एउटा बाख्राको पाठो जलेर मृत्यु भएको छ ।

आगजनीबाट लत्ता, कपडा, अन्नपात, काठ जलेर पूर्ण क्षती भएको प्रहरीले जनाएको छ । २५ वर्षीया लोध थरकी महिला सुरक्षाका लागि प्रहरीको सम्पर्कमा रहेको जनाएको छ । आगजनी गर्ने समूहको घटना लगत्तै खोजी कार्य भइरहेको डिएसपी मल्लले जनाए । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully