प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ आठ जना उम्मेदवारकाे नाम सिफारिस गरेकाे अर्घाखाँची कांग्रेसले केन्द्रले जसलाई उम्मेदवार तोके पनि गुमेको विगतको विरासत फर्काउने गृहकार्यमा जुटेकाे छ ।
What you should know
अर्घाखाँची — फागुन २१ म हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेपछि अर्घाखाँची कांग्रेसले चुनावी तयारी स्वरुप शनिबार सन्धिखर्कमा युवाहरुकाे भेला गरेको छ ।
सिफारिस आठ जना मध्ये केन्द्रले जसलाई उम्मेदवार तोके पनि यो चुनावमा गुमेको विगतको विरासत फर्काउने गृहकार्यमा छ । कुनैबेला कांग्रेसको बलियो जनाधार मानिने अर्घाखाँचीमा लगातार पछिल्ला पाँच निर्वाचन कम्युनिष्ट पार्टीका नेताले जित्दै आएका छन् ।
०४८ र ०५१ मा दुवै निर्वाचन कांग्रेसले जितेको थियो । ०५६ देखि ०७९ सम्म दलीय गठबन्धन र एक्लाएक्लै चुनाव लडेर कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय जनमोर्चाका नेता आलोपालो जस्तै सांसद बनेका छन् ।
फागुन २१ मा हुने निर्वाचनमा कांग्रेसले विरासत फर्काउने तयारी गरेको छ । त्यसका लागि कांग्रेसले पुस ४ गते नै आठ जना प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जसमा पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, लेखनाथ पोखरेल, ताराप्रसाद श्रेष्ठ र जिल्ला उपसभापति बावुराम पौडेल प्रत्यक्षका लागि सिफारिस भएका हुन् ।
केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल गौतम र मानबहादुर विश्वकर्मा निर्वाचनबाट बाहिरिएका छन् । पूर्वमन्त्री विश्वकर्माले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा उम्मेदवारी नदिने घोषणा गरे । नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै जिल्ला सभापति केशव श्रेष्ठलाई काठमाडौंबाट फोन गरेर आफुलाई कतै पनि सिफारिस नगर्न भनेका थिए ।
०६३ मा वातावरण, विज्ञान तथा प्रविधिमन्त्री बनेका उनी ०६४ मा अर्घाखाँचीको तत्कालीन निर्वाचन क्षेत्र १ बाट संविधानसभा सदस्यमा माओवादीका टोपबहादुर रायमाझीसँग पराजित भएका थिए।त्यसपछि ०७० मा संविधानसभा सदस्य, ०७४ मा समानुपातिक प्रतिनिधिसभा सदस्य भए । ०५६ मा निर्वाचन क्षेत्र २ बाट एमालेका डा. डिल्लीराज खनालसँग भुसाल पराजित भएकी थिइन् । उनी सोही क्षेत्रबाट ०६४ मा निर्वाचित भइन् । ०७४ मा समानुपातिक सांसद भएपछि उनी उपसभामुखसम्म बनिन् । ०७० र ०७९ को चुनावमा पराजित भइन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले समानुपातिक रोजेकी छिन् । ‘आउँदो चुनावको लागि मैले ब्रेक थु गरेकी हुँ’, उनले भनिन्, ‘सधैं मै मात्रै चुनाव लडिरहनुपर्छ भन्ने छैन । नयाँ अनुहार लिएर भोट माग्न जाँदा सहज होस् भनेर छाडिदिएकी हुँ ।’ आठ जना मध्ये जसलाई पार्टीले टिकट दिन्छ त्यसैलाई जिताउन फिल्डमा खटिने पूर्वउपसभामुख भुसालले बताइन् ।
२०१५ सालको आमनिर्वाचनमा कांग्रेसका सुवर्णशमशेर राणा र काशीनाथ गौतम अर्घाखाँचीको भूगोलमा निर्वाचित भए । पछि राणा प्रधानमन्त्री र गौतम स्वास्थ्य मन्त्री पनि बने । बहुदलपछिका ०४८ र ०५१ मा क्षेत्र १ बाट रेवतीप्रसाद भुसाल र २ बाट ढुण्डीराज शास्त्रीले जितेका थिए । भुसाल पर्यटन राज्यमन्त्री र शास्त्री उद्योग मन्त्री बने । ०६४ मा क्षेत्र २ बाट पुष्पा भुसालले जितिन् ।
त्यसबाहेक अरु सबै चुनावमा कम्युनिष्ट उम्मेदवारले जितेका छन् । ०५६ मा एमाले–राजमो तालमेलमा क्षेत्र १ बाट राजमोका डिलाराम आचार्य र २ बाट एमालेका डा. डिल्लीराज खनालले चुनाव जिते । आचार्य राजमो छाडेर माओवादीतिर लागे । खनालले राजनीति क्षेत्र नै छाडे ।
०६४ देखि ०७९ सम्मका लगातार चार निर्वाचन टोपबहादुर रायमाझीले जितेका थिए । उनले माओवादी छँदा तीन वटा र एमाले हुँदा ०७९ को चुनाव जिते । उपप्रधानमन्त्रीसम्म भएका रायमाझी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि थुनामा छन् ।
०७४ को चुनाव संघीय संरचना अनुसार अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र कायम गरियो । ०७४ र ०७९ का दुवै निर्वाचनमा कांग्रेस उम्मेदवार पराजित भए । दुवै चुनावमा प्रदेशसभा १ बाट निर्वाचन एमालेका चेतनारायण आचार्य लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री र रामजीप्रसाद घिमिरे लुम्बिनी प्रदेशसभा भौतिक पूर्वाधार विकास समितिका सभापति छन् ।
०७९ को स्थानीय ५ वटा स्थानीय तहका दुई पालिका मात्रै कांग्रेसले जितेको छ । ‘सबै एकजुट भएर लाग्ने हो भने कांग्रेसले चुनाव जित्छ,’ प्रतिनिधिसभा सदस्यमा सिफारिस कांग्रेस पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले भने, ‘पाटीले टिकट दिए ०४८ र ०५१ मा जस्तै मैले चुनाव जित्छु । विगतमा मैले गरेका काम र अर्घाखाँची बदल्ने मेरो विकास योजना नै काफी छ ।’ उनले आफु उम्मेदवार नभए पनि जसले टिकट पाउँछ उसैलाई जिताउन लाग्ने पनि बताए ।
हरेक चुनावमा कांग्रेस पराजित भएपछि पार्टीभित्र अन्तरघात र एकढिक्का भएर नलागेको एवं नेता बीच आरोप–प्रत्यारोप लाग्ने गर्छ । ‘विगतमा पराजित भएको पाठ सिक्दै यसपाली जित्ने गरी लागेका छौं,’ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भने, ‘मैले आठ जना सिफारिस गरेको छु । केन्द्रले जुन व्यक्तिलाई उम्मेदवार चयन गर्छ, त्यहीँ नै साझा उम्मेदवार हो ।’
टोपबहादुर थुनामा भएकाले पनि यसपालीको चुनाव कांग्रेसको पक्षमा आउने सम्भावना रहेको कांग्रेस वृत्तमा छलफल चल्ने गर्छ । कांग्रेसको पुरानो प्रतिस्पर्धी एमाले भए पनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण देखिँदा नेता–कार्यकर्ता सशंकित छन् ।
