आगजनीबाट लत्ताकपडा, अन्नपात, काठ जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।
बर्दिया — गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी गरेका छन् ।
आगजनीबाट मानवीय क्षति नभए पनि घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लले अन्तरधार्मिक/जातीय प्रेम सम्बन्ध भई विवाह गरेको विषयलाई लिएर बेहनाको घरमा अज्ञात समूहले आगजनी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।
राति पौने ९ बजे आगजनीको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरमा रहेको बाख्राको पाठोको जलेर मृृत्यु भएको छ । आगजनीबाट लत्ताकपडा, अन्नपात, काठ जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने समूहको खोजी तीव्र पारिएको डिएसपी मल्लले जनाए ।
