हात्तीको त्रासले रातभर निदाउँदैनन् ईश्वरीगन्जका बासिन्दा

हात्तीले यस साता विष्णुदेवी खत्री लगायत दर्जनौं किसानका गहुँ र तोरी बारीमा क्षति पुर्‍याएको छ ।

पुस ९, २०८२

कमल पन्थी

Residents of Ishwarigunj are unable to sleep at night due to fear of elephants.

What you should know

बर्दिया — राजापुर नगरपालिका–९ ईश्वरीगन्ज महिला टोलका सुन्दर थारुको पक्की घरको भित्ता गत वर्ष हात्तीले भत्कायो । संयोगवश दिनभर घर बसेपछि थारु सहित सपरिवार आफन्तको घर पाहुना कहाँ भोज खान गएका कारण मानवीय क्षति भएन ।

उनको पक्की घरको भित्ता हात्तीले भत्कायो । उनी हात्तीको त्रासले अन्यत्र बस्न थालेको पूर्व बरघर विष्णु चौधरीले बताए । हात्तीले एक वर्षयता यस गाउँका देवीलाल वली, शर्मिला थारु, मंगल थापा, विष्णु देवी खत्री लगायतका घरमा क्षति पुर्‍याएको बडघर चौधरीले बताए । 

हात्तीले यस साता विष्णुदेवी खत्री लगायत दर्जनौं किसानका गहुँ र तोरी बारीमा क्षति पुर्‍याएको छ । विष्णु देवीले यस साता लगातार चार पटक हात्तीले गहुँ र तोरी बालीमा क्षति गरेको बताइन् । ‘अब त बारीमा भएको क्षति हेर्न मन लाग्न छाड्यो,’ उनले भनिन्, ‘हात्तीको आतंकले किसानको बाली मात्रै होइन ज्यान जोगाउन गाहृो भयो ।’

एक दशक यता भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको ईश्वरीगन्ज, शंकरपुर र आसपासका क्षेत्र हात्तीको आक्रमणले धनजनको क्षतिले त्रास फैलाएको छ । दश वर्षयता यस क्षेत्रमा हात्तीको आक्रमणमा चारजनाको ज्यान गएको स्थानीयले बताए । स्थानीय घनश्याम खत्रीले हात्ती, बाघ र चितुवा नआएको दिनै नभएको बताए । 

‘सीमासँग जोडिएको आरक्षबाट आउने वन्यजन्तुका कारण साँझ पर्ना साथ पालै पालो जाग्राम बस्ने गरेका छौ,’ उनले भने, ‘करिब ४० वर्ष अघि भूमिहीनका नाममा बसेको बस्ती महिला टोलका बासिन्दा दिनहुँ वन्यजन्तुको त्रासमा बस्नु परेको छ ।’ हालसम्म आयोगबाट यस वस्तीका बासिन्दाले जग्गाधनी पुर्जा पाएका छैनन् ।

यस भेगमा दर्जनौं हात्ती राती प्रवेश गरि अन्नबाली लगायत घरसमेत क्षति गर्ने गरेको स्थानीयले बताए । सांसद विकास कोषको करिब ६० लाख रुपैयाँको लागतमा राजापुर नगरपालिकाको सीमा स्तम्भ नम्बर ८७ देखि ९८ सम्मको करिब २२ किमी विद्युतीय तारबार गरिएको थियो । 

करिब डेढ दशकअघि निर्माण गरिएको तारबारले हात्ती लगायत वन्यजन्तु रोक्ने प्रयास भएकोमा अहिले ति विद्युतीय तार र पोल पनि क्षति भएको छ । सब डिभिजन वन कार्यालय, राजापुरका वरिष्ठ वन अधिकृत सुनिल आचार्यले एक दशकअघि बर्दिया राष्ट्रिय निकुञ्जले यस क्षेत्रमा विद्युतीय तार लगाएकोमा हात्तीले भत्काएपछि मर्मत हुन नसकेको बताए । आफू भर्खरै सरुवा भएर आएकोले थप जानकारी नपाएको उनले जनाए 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully