बिनाइजाजत प्रमाण बेगर सडक क्षेत्राधिकारभित्रका रूख काटी काठ ओसारपसार गरेको कसुर ठहर गर्दै अदालतले कैद र बिगो भराउने फैसला गरेको हो ।
What you should know
दाङ — लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रको पूर्व–पश्चिम राजमार्ग छेउका रूख जथाभावी कटान गरेको मुद्दामा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र तीन वडाध्यक्षसहित आठ जना दोषी ठहर भएका छन् ।
जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले पुस २ मा राप्ती गाउँपालिका अध्यक्ष विष्ट, वडा नं. १ का वडाध्यक्ष गेमबहादुर खड्का, वडा नं. ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने व्यवसायी झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशबहादुर चौधरीलाई १५/१५ दिन कैद गर्ने फैसला गरेको हो ।
यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीलाई एक महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने फैसला भएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए । ८१ लाख ३७ हजार ९ सय बिगो दाबी गरी मुद्दा दायर भएकामा चौधरीले १ लाख ४१ हजार २ सय २६ रुपैयाँमा रुख बिक्री गरी वडाको काममा खर्च गरेको भनी बयान दिएकाले उनलाई उक्त बिगो भराउने फैसला भएको उनले बताए ।
नौ जना प्रतिवादीमध्ये तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ । बिनाइजाजत प्रमाण बेगर सडक क्षेत्राधिकारभित्रका रूख काटी काठ ओसारपसार गरेको कसुर ठहर गर्दै अदालतले कैद र बिगो भराउने फैसला गरेको हो ।
डिभिजन वन कार्यालय लमही, देउखुरी, दाङका सहायक वन अधिकृत छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा २०८० मंसिर १० गते मुद्दा दायर भएको थियो । सडक डिभिजन कार्यालय दाङले २०७९ मंसिर २० गते सार्वजनिक सूचना जारी गरी सडकको क्षेत्राधिकारभित्रका संरचना खाली गर्नेसम्बन्धी १५ दिने सूचना जारी गरेको थियो ।
उक्त सूचनाको बहाना बनाएर राजधानी कार्यान्वयन र स्वागतका लागि भन्दै झाडी सफाइको नाममा राजमार्ग छेउमा पर्ने २ हजार ७ सय बुटा, बुट्यान र रूख काटिएका थिए । राप्ती गाउँपालिका अध्यक्ष विष्टले भने रूख काट्ने काममा आफू सहभागी नभएको दाबी गर्दै थप न्यायका लागि उच्च अदालत जाने प्रतिक्रिया दिएका छन् ।
