प्रदर्शनीमा पाल्पा तथा तानसेनका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकला राखिएको संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए ।
What you should know
पाल्पा — पाल्पा चिनाउन आयोजित तीनदिने फोटो तथा चित्रकला प्रदर्शनी मंगलबार सकिएको छ । आइतबारदेखि पाल्पा दरबाबर संग्रहालयमा सुरु फोटो प्रदर्शनीको सयौं आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको आयोजक तानसेन गुठी पाल्पाले जनाएको छ ।
पाल्पाका साथै तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्न फोटो तथा चित्रकला प्रदर्शनीले ठूलो सहयोग पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले पाल्पा तथा तानसेनलाई देश–विदेशमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
प्रदर्शनीमा पाल्पा तथा तानसेनका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकला राखिएको संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए । स्थानीय भाषा, कला, संस्कृति र भेषभूषालाई समेत चित्रकला तथा फोटो प्रदर्शनीमा महत्त्व पाएकाले प्रचारप्रसारमा महत्त्व राखेको उनले बताए । प्रदर्शनीले आन्तरिक तथा बाहृय पर्यटकलाई तानसेन र पाल्पाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्त्वबारे जानकार बनाएको तानसेन गुठी काठमाडौंकी पूर्वअध्यक्ष प्रमी श्रेष्ठले बताइन् ।
प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्न टेवा पुग्ने तानसेन गुठी पाल्पाकी अध्यक्ष शकुन्तला बज्राचार्यले बताइन् । चित्रकला तथा फोटो प्रदर्शनीमार्फत तानसेनको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकै स्थानमा प्रस्तुत गरिएको छ ।
यसले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने तानसेन गुठी काठमाडौंका अध्यक्ष जीवनज्योति बज्राचार्यले बताए । पाल्पा र तानसेन केवल ऐतिहासिक सहर मात्र नभई जीवन्त संस्कृति बोकेको पर्यटकीय गन्तव्य भएको पर्यटन तथा शिक्षाविद् बुद्धिप्रसाद शर्माले बताए । तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जनले फोटो तथा चित्रकला प्रदर्शनी सिर्जनात्मक हुने भएकाले पर्यटकको बसाइ लम्ब्याउनसमेत सहयोग पुग्ने बताए ।
पाल्पा ऐतिहासिक रूपमा मगरहरूको शासनकालदेखि सेन वंशीय शासकले राज्य विस्तार गरेको जिल्ला भएकाले अध्ययन र खोजका लागिसमेत सहयोग पुग्ने उनले बताए । इतिहास, राणाकालीन समयमा नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको तानसेनको गौरवशाली पहिचानलाई फोटो तथा चित्रकलामार्फत नागरिकसमक्ष पुर्याउन सहयोग पुगेको तानसेन गुठी पाल्पाका निवर्तमान अध्यक्ष सुशील प्रधानले बताए ।
