प्रतियोगितात्मक कृषि प्रदर्शनी र पुरस्कारले किसान उत्साहित

निस्दीमा एक सातासम्म आयोजित एकीकृत घुम्ती शिविरबाट ५ हजार ९ सयले सेवा लिएका छन्।

पुस ८, २०८२

माधव अर्याल

Farmers excited by competitive agricultural exhibition and awards

What you should know

पाल्पा — निस्दी गाउँपालिका–७ ज्यामिरे बतासाका टेकबहादुर रानाको बारीमा फलेको फर्सी अस्वाभाविक थियो । तौल गर्दा २८ किलोभन्दा बढी भएपछि फर्सी हेर्नेको भीड नै लाग्यो । गाउँमा फर्सी फलाउनु ठूलो कुरा होइन । तर उनको बारीमा फलेको फर्सीले ३५ जना कृषि उत्पादक प्रतियोगीलाई उछिन्दै पहिलोसमेत भयो ।

पहिलो भएसँगै उनले २ हजार ५ सय नगद र प्रमाणपत्र पुरस्कार पाए । ‘मेरो बारीमा फलेको फर्सीले बजार पाउन सकेन। तर प्रतियोगितामा भने पहिलो भयो,’ उनले भने, ‘मलाई धेरै खुसी लागेको छ । बजार विस्तारका लागि गाउँपालिकाले सहयोग गरिदियो भने मैले केही नगद आम्दानी गर्न सक्थेँ ।’

निस्दी–७, ज्यामिरे घोर्लीखर्कका दुर्गा बहादुर भराम मगरले प्रदर्शनीमा ल्याएको लौका पनि कम्तीको थिएन । उनी दोस्रो भएसँगै नगद १ हजार ५ सयसहित प्रमाणपत्र पाए । बारी बार्ने ठाउँ, मलखादलगायतमा फलाएको लौकाले पुरस्कार पाउँला भन्ने उनले सोचेका थिएनन् ।

‘हाम्रो गाउँमा हावापानी राम्रो भएर होला, निकै राम्रो फल्छ,’ उनले सुनाए, ‘अब गाउँपालिकाले व्यावसायिक खेती विस्तारका लागि सहयोग गर्नुपर्छ र बजारका लागि सम्पर्क गराइदिनुपर्छ ।’

राना र भराम मगर मात्र होइन, सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वमा रहेको निस्दी गाउँपालिकाका उत्तर र दक्षिण फर्केका खेतबारीमा धेरैले फर्सी, लौका, गोलभेँडा, गेडागुडी, अम्लिसो, कागतीलगायत कृषि तथा फलफूल खेती गर्छन् । यहाँ लगाइएका खेतीबाली निकै राम्रो सप्रिन्छन् ।

निस्दी गाउँपालिका–५ गल्धाको सिमी (गेडागुडी) र अदुवा युरोप निकासी भएको छ । धेरै चिसो पनि नहुने र बढी गर्मीसमेत नहुने भएकाले खेतीकिसानीका लागि उपयुक्त रहेको गल्धाकी किसान दिलमाया थापाले बताइन् ।

कच्ची सडक र बजार टाढा भएकाले बजार पाउन भने निकै मुस्किल छ । बिचौलियाको भरमा सिमी, अदुवा, अम्लिसो र तरकारी निकासी हुन्छ । कच्ची सडक र अप्ठेरो भौगोलिक बनावटका कारण नजिकको रामपुर, अरुणखोला, दुम्किबास र सर्दीसम्म पुर्‍याउन पनि मुस्किल रहेको किसानको गुनासो छ । तर पनि गाउँपालिकाले किसानलाई हरेक वर्ष प्रोत्साहन गर्दै आएको सूचना अधिकारी अर्जुन खनालले बताए ।

‘हरेक वर्ष कृषि प्रदर्शनी गर्ने र किसानलाई मल, बीउ सहयोग गर्ने गरिएको छ,’ उनले भने, ‘भौगोलिक अवस्थाका कारण कतिपय बजारसम्म लैजान समस्या होला तर आन्तरिक बजारमै पनि खपत राम्रो भएको छ ।’ गाउँपालिकाले वडावडामा कृषि प्रदर्शनी राखेर किसानलाई प्रोत्साहन गर्दै आएको छ । यस वर्ष बाँकामलाङमा १४, सहलकोटमा ३१, झिरुवासमा १०, मित्यालमा ५८, गल्धामा ४४, अर्चलेमा २६ र ज्यामिरेमा ३६ किसानले आफ्ना उत्पादन प्रदर्शनीमा ल्याएका थिए ।

गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा प्रदर्शनीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । किसानलाई हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गरिएको उनले बताए ।

यस वर्ष पनि ३८ लाख बजेट निस्दी गाउँपालिकाको गाउँसभाबाट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा मागमा आधारित कृषि विकास कार्यक्रम ७५ प्रतिशत अनुदानका लागि ७ लाख, कृषि मेसिनरी अनुदानका लागि ५ लाख, प्लास्टिक मल्चिङमा ५० प्रतिशत अनुदानका लागि ३ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले बताए ।

बाँझो जग्गाको अभिलेख तथा करार खेतीमार्फत युवा परिचालनका लागि ७ लाख, कृषि ढुवानी तथा निस्दी कोशेली घरमार्फत बजारीकरणका लागि ३ लाख बजेट विनियोजन भएको छ । कृषि ढुवानी तथा कर्मचारी बैठकका लागि २ लाख, बिरुवा संरक्षण तथा आपतकालीन सेवा कार्यक्रमका लागि २ लाख, माटो परीक्षण तथा कृषि चुन वितरणका लागि २ लाख बजेट रहेको लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिए ।

जैविक मल तथा क्षेत्र विस्तार कार्यक्रमका लागि २ लाख, कृषकस्तर र प्राविधिक तालिमका लागि २ लाख, बगैँचा सुदृढीकरण कार्यक्रमका लागि १ लाख, कफी बिरुवा रोपणका लागि २ लाख बजेट रहेको काफ्लेले बताए ।

कृषि तथा पशु प्रदर्शनीका साथै गाउँपालिकाले सातवटै वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी नागरिकलाई सेवा दिएको छ । उपाध्यक्ष तिरणकुमारी श्रेष्ठका अनुसार भौगोलिक अवस्थाका कारण पालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वडावडामा शिविरमार्फत सेवा प्रवाह गरिएको हो ।

शिविरमार्फत ५ हजार ९ सय ७ जनाले सेवा लिएका छन् । शिविरबाट ६२ योजनाको सम्झौता गरिएको छ भने १० वटा योजनालाई पेश्की भुक्तानी गरिएको पूर्वाधार शाखा प्रमुख सञ्जय खनालले बताए ।

शिविरमार्फत १ हजार ७२ जनाले सामान्य स्वास्थ्य परीक्षण, ९ सय ९८ जनाले औषधि वितरण सेवा पाएका छन् । ७ वटै वडामा ८ सय १८ जनाले रक्त समूह परीक्षण सेवा लिएका छन् । ७ सय ९२ जनाले आयुर्वेद औषधि वितरण सेवा पाएका छन् ।

४ जनाले व्यवसाय दर्ता, ६२ जनाले व्यवसाय नवीकरण सेवा लिएका छन् । ६३ जना कृषकले माटो परीक्षण सेवा लिएका छन् । ८ सय ४९ कृषकका १९ हजार ६ सय ८० पशुचौपायाका लागि औषधि वितरण गरिएको छ । २ सय ३२ जनाले वैदेशिक रोजगार अभिमुखीकरण सेवा लिएका छन् भने २ सय १९ जनाले भू–वर्गीकरण निवेदन सेवा लिएका छन् ।

शिविरको अवसरमा सातवटै वडामा २ सय ८४ जना ज्येष्ठ नागरिकलाई लौरो, टर्चलाइट र हर्लिक्ससहित सम्मान गरिएको छ । १ सय ५१ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । शिविरमार्फत ८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully