आन्तरिक पर्यटकको घुइँचो लाग्दै छ बाह्रकुने दहमा

बाह्रकुने दहको उत्तरतिरको ज्यामिरे दहलाई ठूलो बनाएपछि यहाँ डुंगा सयरको आनन्द पनि लिन सकिन्छ ।

पुस ८, २०८२

रासस

Domestic tourists are flocking to Barhakune Daham

What you should know

देउखुरी (दाङ) — घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।  

आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो ।

सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ । 

बाह्रकुने दह घुम्न आइपुगेकी तुलसीपुर उपमहानगरपालिका–१७ का सीता पन्थीले टोलका आमासमूहबाट रमाइलो गरौँ भनेर वनभोज खान आएको बताइन् । 'तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो लाग्यो,' उनले भनिन्, 'वनभोज खाने,  नाचगान गरेर रमाइलो गर्नेको भिडभाड नै हुने रैछ । यहाँको मन्दिर वरिपरिको वातावरण रमाइलो रहेछ, मन्दिर छेउमा रहेको तालमा डुङ्गा सयर गर्दा झनै आनन्द आयो ।'

घोराही उपमहानगरपालिका–१८ की मुना पोखरेल पनि शनिबार विद्यार्थी लिएर बाह्रकुने आएकी थिइन् । घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भएर धेरै भिडभाड भएको उनले बताइन् ।

बाह्रै महिना यहाँ भक्तजनको भिडभाड हुने गर्छ त्यसमा पनि मङ्सिरदेखि माघमा यहाँ धेरै भक्तजन आउने गरेको बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिए । 'बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने गर्दछन्, माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्छ,' उनले भने ।

विशेषगरी निःसन्तान दम्पती सन्तानका लागि बर माग्न आउने गर्छन् । यहाँ अन्य समयमाभन्दा माघेसङ्क्रान्तिमा निकै भीडभाड हुने गर्छ  । यहाँ १२ वटा आकारमा निर्मित प्राकृतिक ताल रहेको छ । यहाँ भेडा र भालेको बलि दिइन्छ भने परेवा उडाउने गरिन्छ ।

ज्यामिरेमा डुंगा  

बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आएका वीरजङ्ग पुनले बताए ।

जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटक आउने गरेको पुनले बताए । उनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म घुम्न आउने गरेका छन् । 

मङ्सिरदेखि वैशाख महिनासम्म बढी भीड हुने गरेको छ । तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक १५ देखि रु २० हजारसम्म आम्दानी हुने गरेको बताए । उनका  अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने र वनभोज खान दैनिक रूपमा मानिस आउने गरेका छन् । 

'सानो पोखरीलाई विस्तारसँगै डुङ्गा राखेर पर्यटक तान्ने काम भएको छ,' उनले भने, 'ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ ।'

रासस

Link copied successfully