उपकुलपति धनेश्वर नेपालसँगै अन्य दुई कर्मचारीलाई पनि कुटपिट भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए ।
दाङ — नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थीले मोसो दल्नुका साथै कुटपिट गरेका छन् ।
आइतबार बिहान ५/६ जनाको संख्यामा बेलझुण्डीस्थित निवासमा पुगेका अखिल (क्रान्तिकारी) का विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेको विश्वविधालयका कुलसचिव माधव अधिकारीले बताए ।
नेपालसँगै अन्य दुई कर्मचारीलाई पनि कुटपिट भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए । मोसो दल्ने विद्यार्थीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।
भ्रष्टाचारको आरोप लगाउँदै उनीहरूले नेपालमाथि दुर्व्यवहार गरेका हुन् । त्यस क्रममा उनीहरूले नेकपा बहुमत जिन्दावाद र अखिल क्रान्तिकारी जिन्दावाद भन्ने नारा लगाएका थिए ।
अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश इञ्चार्ज प्रेमप्रशान्त बोहराले प्रेस विज्ञप्तिमार्फत घटनाको जिम्मा लिएका छन् ।
