डबकाका स्थानीयले ‘एउटै रंग, एउटै मन : आफ्नै खल्तीको धन’ नारा बनाएर घर तथा गोठका छानामा एउटै रंग लगाएका हुन् । विपन्न तथा आर्थिक अभाव भएका परिवारका लागि केही सहयोग जुटेको छ ।
What you should know
पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका-७, पालुङ मैनादी डबका गाउँका बासिन्दाले ६४ घरगोठमा एउटै रंग लगाएका छन् । पुराना टिनमा रंग लगाउँदा अहिले गाउँ नै अलग देखिएको छ ।
स्थानीय सीता कुँवरका अनुसार गाउँले भेला भएर आफ्नै लगानीमा एउटै रंग लगाउने निर्णयमा पुगेका हुन् । ‘हाम्रो गाउँमा फरकफरक रंग थियो,’ उनले भनिन्, ‘एउटै रंग गरायो भने राम्रो पनि देखिन्छ भन्ने भयो । त्यसैले सबैको सल्लाह मिल्यो र यस्तो बनाएका हौं ।’ कुनै घरका टिन धेरै पुराना पनि थिए । यसरी रंग गर्ने हो भने कम्तीमा १० वर्ष टिनको आयु लम्बिन्छ भन्ने सुनेकाले पनि यसरी रंग लगाएको उनले बताइन् ।
स्थानीय प्रमोद कुँवरका अनुसार ६४ घर तथा गोठमा रंग लगाउँदा झन्डै १३ लाख खर्च भएको छ । यसमा व्यक्तिगत ९ हजारदेखि ३६ हजार रुपैयाँसम्म खर्च गरेर रंग लगाएका छन् । गाउँका विपन्न परिवार ७ घरलाई पूर्ण निःशुल्क रंग लगाइएको छ । निःशुल्क रंग लगाएकाहरूका लागि ९ हजार ५ सयदेखि २७ हजारसम्म खर्च भएको छ ।
डबकाका स्थानीयले ‘एउटै रंग, एउटै मन : आफ्नै खल्तीको धन’ नारा बनाएर घर तथा गोठका छानामा एउटै रंग लगाएका हुन् । विपन्न तथा आर्थिक अभाव भएका परिवारका लागि केही सहयोग जुटेको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले ५० हजार, भालुवन सामुदायिक वन उपभोक्ता समूह डबकाले ५० हजार रुपैयाँ र आत्मनिर्भर कृषि सहकारी संस्था डबकाले ३० हजार सहयोग गरेका छन् । यो काममा गाउँपालिकाको एक रुपैयाँ पनि लगानी नगरेको अध्यक्ष कार्कीले बताए ।
‘गाउँका सबै बासिन्दाले एउटै मन बनाएर आफै लगानी गरेर नमुना देखिएको छ,’ अध्यक्ष कार्कीले भने, ‘यसलाई नमुनाका रूपमा मानेर अन्य गाउँका बासिन्दा पनि प्रेरित भएर स्वःलगानी गरून् भन्ने पनि हो ।’
गाउँपालिकाले ‘म बनाउँछु, मेरो रिब्दीकोट’ अभियान सुरु गरेको र यसको प्रेरणाले पनि गाउँका बासिन्दा उत्साहित भएर काम गरेको उनले बताए । वडा तथा टोलमा सरसफाइ अभियानका साथै स्वास्थ्य बृहत् स्वास्थ्य शिविर लगायतका कामसमेत गर्दै आएको अध्यक्ष कार्कीले बताए ।
