‘सीमापार अवरोधकै कारण नेपालगञ्ज पर्यटन सम्भावनाबाट पछाडि’

समाधान खोज्न क्रस–बोर्डर टुरिज्म कन्क्लेभ

पुस ६, २०८२

कान्तिपुर संवाददाता

'Nepalgunj lags behind in tourism potential due to cross-border obstacles'

What you should know

नेपालगञ्ज — नेपाल–भारतबीचको खुला सीमा हुँदाहुँदै पनि अव्यवस्थित सुरक्षा जाँच, अनावश्यक कडाइ र व्यवहारगत समस्याका कारण नेपालगञ्जको पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । यही समस्यालाई उठान गर्दै समाधान खोज्ने उद्देश्यले नेपालगञ्जमा शुक्रबारदेखि तीनदिने ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आयोजना गरिएको कन्क्लेभमा नेपाल र भारतका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षाकर्मी तथा सरोकारवालाको सहभागिता रहेको छ ।

कन्क्लेभको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण गन्तव्य भए पनि सीमापार अवरोधका कारण अपेक्षित लाभ लिन नसकिएको बताए । भारतीय पर्यटक आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्र सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारत सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा केन्द्रित छलफल भएको थियो । छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वप्रमुख धवल शम्शेर राणा, बाँके प्रहरी प्रमुख अंगुर जिसी तथा नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

प्यानल छलफलमा सीमामा हुने अनावश्यक कडाइ, लामो सुरक्षा जाँच प्रक्रिया, सुरक्षाकर्मीको व्यवहार तथा समन्वयको अभावले पर्यटक निरुत्साहित भएको विषय प्रमुख रूपमा उठाइएको थियो । वक्ताहरूले नेपालगञ्जलाई केवल ट्रान्जिट सहरका रूपमा हेर्ने प्रवृत्ति बदल्नुपर्ने भन्दै यसलाई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त अन्तरदेशीय पर्यटन हबका रूपमा विकास गर्न अवरोध हटाउनुपर्नेमा जोड दिए ।

कन्क्लेभमा सहभागी भारतीय टुर अपरेटर तथा पत्रकारहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न र सीमापार पर्यटनलाई संस्थागत रूपमा अघि बढाउन नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

बाँके प्रहरी प्रमुख अंगुर जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार गर्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले दशकौंदेखि उठ्दै आएका यी समस्यालाई अब टार्न नहुने भन्दै सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले बाँके र नेपालगञ्जमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि सीमापार समस्या मुख्य अवरोध बनेको बताए । यस्ता अन्तरदेशीय संवादले ती समस्या समाधानतर्फ ठोस पहल गर्न सहयोग पुग्ने उनको भनाइ थियो । उनले नेपाल वेडिङ, वेलनेस तथा वाइल्डलाइफ टुरिजमका लागि आकर्षक गन्तव्य रहेको पनि उल्लेख गरे ।

नाट्टा बाँकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक श्रीराम सिग्देलले दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडान र सीमापार सहकार्य बिना नेपालगञ्जलाई अन्तरदेशीय पर्यटन हब बनाउन कठिन हुने बताए । नेपालगञ्जका पूर्वमेयर धवल शम्शेर राणाले सीमाका समस्या समाधान र सहरको वास्तविक पर्यटन पहिचान उजागर गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको धारणा राखे ।

करिब ४० जना भारतीय टुर अपरेटरको सहभागिता रहेको कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा बी–टु–बी बैठक, नीतिगत छलफल, अनुभव आदान–प्रदान, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनमा देखिएका समस्या उजागर गर्दै समाधानतर्फ अघि बढ्न क्रस–बोर्डर टुरिज्म कन्क्लेभ प्रभावकारी मञ्च बनेको बताए ।

कान्तिपुर

Link copied successfully