सोलार लिफ्टिङ गरी गुल्मीको बलिथुमका ३२७ घरधुरीमा खानेपानी

गुल्मी दरबार गाउँपालिका-१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ खानेपानीमार्फत घरघरमा खानेपानी पुर्‍याइएको हो ।

पुस ६, २०८२

सन्तोष महतारा

Solar lifting brings drinking water to 327 households in Balithum, Gulmi

गुल्मी — गुल्मीमा सोलार लिफ्ट खानेपानी आयोजनाबाट ३२७ घरधुरीमा खानेपानी पुगेको छ । गुल्मी दरबार गाउँपालिका-१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ खानेपानीमार्फत खानेपानी पुर्‍याइएको हो ।

लुम्बिनी प्रदेशबाट १५ लाख रुपैयाँ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार रुपैयाँ, ग्रामीण प्रविधि केन्द्र यूएनडीपी/जीईएफ-एसजीपीबाट २९ लाख ६१ हजार रुपैयाँ, गुल्मी दरबार गाउँपालिकाबाट २२ लाख रुपैयाँ, वाइन टु वाटर नेपालबाट ५५ लाख ६२ हजार रुपैयाँ र रहखोला  खानेपानी उपभोक्ता श्रमदानबाट २४ लाख रुपैयाँसहित कुल एक करोड ९७ लाख ५७ हजार रुपैयाँमा सम्पन्न खानेपानी आयोजना लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका हुन् ।

सात निकायबाट आर्थिक सहयोग र ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल-ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनका लागि सहयोग परियोजनामार्फत बलिथुमका अधिकांश घरधुरीमा खानेपानी पुर्‍याइएको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज थापाले बताए । स्थानीय सरकारले मात्रै गर्न नसक्ने काम दातृ निकायको सहयोगबाट सम्पन्न गरेर खानेपानी सुविधा पुर्‍याइएको अध्यक्ष थापाले बताए ।

खानेपानी आयोजना उद्घाटन गर्दै लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सबैको सहयोगबाट आयोजना सम्पन्न भएको र यसको सुविधा अब निरन्तर रहने बताए । 'पहिलेदेखि खानेपानीको समस्या थियो, सोलार ऊर्जाबाट लिफ्ट योजना सञ्चालनमा आएको छ,' उनले भने, 'खानेपानीको समस्या सधैँका लागि समाधान भएको छ ।' खानेपानीसँगै अन्य पूर्वाधार विकासका लागि पनि आफूले पहल गर्ने उनले बताए ।

सन्तोष

Link copied successfully