लमहीमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा संलग्न पक्राउ

लमहीमा श्रृंखलाबद्ध गोलीकाण्डमा संलग्न मुख्य अभियुक्त बंगलाचुली गाउँपालिका–४, काभ्रेका ३३ वर्षीय लेखराज केसी भदौ २४ मा तुलसीपुर कारागारबाट फरार भएका थिए ।

पुस ४, २०८२

दुर्गालाल केसी

Arrests made in two separate shootings in Lamahi

What you should know

दाङ — लमहीमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गत भदौ २४ मा तुलसीपुर कारागारबाट फरार भएका बंगलाचुली गाउँपालिका–४, काभ्रेका ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले राजपुर गाउँपालिका–१, मारुनी खोलास्थित जंगलमा लुकेर बसेको अवस्थामा शुक्रबार बिहान फेला पारेको हो ।

मंसिर २० गते दिउँसो लमही नगरपालिका–५ स्थित जुनतारा सुनचाँदी पसलमा केसीले सुन लुट्न गोली प्रहार गरेका थिए । उक्त घटनामा पसलमा कार्यरत १८ वर्षीय दीपक सुनार घाइते भएका थिए । घटनास्थलबाट प्रहरीले गोलीको खोका, कालो रंगको झोला, हेलमेट र निलो रंगको रा १ प २६४९ नम्बरको होन्डा साइन मोटरसाइकल बरामद गरेको थियो । सीसीटीभी र हुलियाका आधारमा प्रहरीले अभियुक्तको खोजी तीव्र पारेको थियो ।

पहिलो घटनाको एक हप्तापछि, मंसिर २७ गते बिहान लमही–५ कै रोयल प्यालेस होटलमा पुनः गोली चलेको थियो । उक्त घटनामा १८ वर्षीय सिसन भनिने डिल्लीराज सुवेदी सामान्य घाइते भएका थिए । अनुसन्धानका क्रममा केसी केही दिनदेखि सोही होटलमा लुकेर बसेको खुलेको थियो । होटलबाट प्रहरीले घटनामा प्रयोग भएको म्यागेजिनसहितको इलाभेन वाई पेस्तोल (१ थान), जंगी राउण्ड (४ थान), गोलीको खोका र बुलेट र घटनामा प्रयोग गरिएको सेतो विन्ड चिटर, चश्मा र मंकी टोपी बरामद गरेको छ ।

पक्राउ परेका केसी पुराना अपराधी भएको खुलेको छ । २०७६ सालमा लागूऔषध (अफिम) मुद्दामा रुकुम जिल्ला अदालतबाट १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला भएपछि उनी तुलसीपुर कारागारमा सजाय काटिरहेका थिए ।

गत भदौ २४ गते कारागारमा भएको जेन–जीको आन्दोलनको फाइदा उठाउँदै उनी कारागारबाट भाग्न सफल भएका थिए । कारागारबाट भागेको केही महिनामै उनले लमहीमा श्रृंखलाबद्ध गोलीकाण्ड मच्चाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेका केसीलाई शुक्रबार दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । उनलाई कर्तव्य ज्यान उद्योग, हातहतियार खरखजाना र कारागारबाट फरार भएको मुद्दामा थप कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully