सहकारी वित्तीय विकासका बचतकर्ता गुप्ताको अनशन तेस्रो दिन तोडियाे

अनशनमा बसेका गुप्ताको स्वास्थ्य अवस्था बिग्रेपछि गएराति नै भेरी अस्पतालमा लगेर आइसीयूमा राखिएको थियो ।

पुस ४, २०८२

रुपा गहतराज

Cooperative Financial Development Savings Banker Gupta's hunger strike ends on third day

What you should know

नेपालगन्ज — अदालतको आदेश कार्यान्वयनको माग राख्दै पुस १ गते जिल्ला प्रशासन बाँकेको प्रवेशद्वार अगाडि आमरण अनशनमा बसेका सहकारी वित्तीय विकास संस्था नेपालगन्जका बचतकर्ता विजय गुप्ताकाे अनशन तेस्रो दिनमा तोडिएकाे छ ।

 लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका बीचमा दुई बुँदे सहमति भएपछि गुप्ताको आमरण अनशन तोडिएको हो ।

अनशनमा बसेका गुप्ताको स्वास्थ्य अवस्था बिग्रेपछि गएराति नै भेरी अस्पतालमा लगेर आइसीयूमा राखिएको थियो । सहमतिपछि अस्पतालबाटै उनकाे अनशन तोडिएको हाे ।

  सहकारीमा राखेकाे बचत फिर्ता सम्बन्धी मुद्दामा जिल्ला अदालतले २०८० पुस २६ गते गरेको फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सदर गरेको थियो । यतिका वर्ष हुँदासम्म सहकारी विभागले आफ्नो काम नगरेपछि पीडित संघर्ष समितिका संयोजक गुप्ता आमरण र अन्य ४ जना रिले अनशनमा बसेका थिए ।

प्रदेशको सहकारी मन्त्रालयसँग सहमति भएपछि पीडितले आफ्नो बचत फिर्ता आउने सम्भावनाको ढोका खुलेको बताएका छन् । 

पीडित संघर्ष समितिका सहसंयोजक शुक्लाले तदर्थ समिति बनाएर विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति बनाई सहकारी चलाउने र कर्जा उठाउने, अदालतले दोषी ठहर गरेकासँग बिगो उठाउनेलगायतको काम गर्ने र बचतकर्ताको रकम फिर्ता गर्दै जाने बताए ।

४३ करोड बढी रकम अपचलन भएको सहकारी वित्तीय विकास संस्थाका १९ जनालाई अदालतले कसुरदार ठहर गर्दै उनीहरुलाई कैद, जरिवाना र बिगो भराउने तथा सहकारी विभाग, मन्त्रालय, जिल्ला प्रशासन, नगरपालिका, मालपोत, पीडित सम्मिलित तदर्थ समिति बनाउन आदेश गरेको थियो । 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully