बर्दियाको जब्दीघाटमा नयाँ पुल बन्छ : मन्त्री घिसिङ

भत्किएको पुलको सम्बन्धमा अदालत, अख्तियारलगायत धेरै ठाउँमा मुद्दा परेको छ, छानबिनको क्रममा भएकोले ढिलो हुन्छ, जसले गर्दा नयाँ पुल बनाउने हिसावले प्रस्ताव भइसकेको छ : मन्त्री घिसिङ

पुस ३, २०८२

रामप्रसाद चौहान 

New bridge to be built at Jabdighat in Bardiya: Minister Ghising

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटमा नयाँ पुल बन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आश्वासन दिएका छन् । मन्त्री घिसिङले बिहीबार बिहान जब्दीघाटस्थित उद्‍घाटन नहुँदै भत्केको पुलको अनुगमन गर्दै नयाँ पुल बन्ने आश्वासन दिएका हुन् । 

‘भत्किएको पुलको सम्बन्धमा अदालत, अख्तियारलगायत धेरै ठाउँमा मुद्दा परेको छ, छानबिनको क्रममा भएकोले ढिलो हुन्छ, जसले गर्दा नयाँ पुल बनाउने हिसावले प्रस्ताव भइसकेको छ  र स्वीकृतीको लागि अर्थ मन्त्रालयमा पठाइसकेका छौं,’मन्त्री घिसिङले भने,‘चाँडै अर्थ मन्त्रालयबाट सहमति लिएर नयाँ पुलको लागि तत्काल टेन्डर गराउने काम सुरु हुन्छ ।’

२०७४ साल साउन २८ गते बबई नदीमा आएको बाढीले  गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने  जब्दीघाटको पुल भासिएको थियो । २०७९ साल असोज २० गतेको बाढीले भासिएको स्पान बगाउँदा आवागमन बन्द भएको थियो ।  पुल पुनर्निर्माण नहुँदा बारबर्दियाका सर्वसाधारण सदरमुकाम गुलरिया आउन पैसा तिरेर डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त पुल कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो ।

मन्त्री घिसिङले  बिहीबार बिहान गुलरिया नगरपालिका-१ स्थित निर्माणाधीन नहर, बूढी खोलाको तटबन्धसमेत अनुगमन गरेका छन् । यस्तै बुधबार राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीको दौलतपुर घाटमा मन्त्री घिसिङले झोलुङ्गे पुलको शिलान्यास गरेका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully