चितुवा नियन्त्रणको माग गर्दै स्थानीयद्वारा प्रशासन घेराउ

बुधबार चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएपछि बिहीबार दिउँसो स्थानीयले प्रशासन घेराउ गरेका हुन् ।

पुस ३, २०८२

रामप्रसाद चौहान 

Locals surround administration demanding leopard control

बर्दिया — चितुवा नियन्त्रणको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

बुधबार चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएपछि बिहीबार दिउँसो स्थानीयले प्रशासन घेराउ गरेका हुन् । 

उनीहरुले समस्याग्रस्त चितुवा तत्काल नियन्त्रण गर, प्रशासन मौन बस्न पाउँदैनलगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि चितुवाले निरन्तर आक्रमण गर्दासमेत सराेकारवाला निकाय मौन रहेको बारबर्दिया नगरपालिका–१० डफैयाका तिल्कु चौधरीले बताए । ‘मान्छेहरु डरले बाहिर निस्कनसमेत डराइरहेका छन्,’ उनले भने,‘सम्बन्धित निकायले चितुवा नियन्त्रणका लागि तत्काल पहल गर्नुपर्छ ।’

गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाास काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो । यस्तै गत मंसिर १६ गते घरनजिकै राखेको पराल लिन गएको बेला परालमा बसेको चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु घाइते भएकी थिइन् ।

चालु आर्थिक वर्षको हालसम्म चितुवाको आक्रमणबाट ३ महिला र १ पुरुष गरी ४ जनाको ज्यान गएकाे र ७ जना घाइते भएकाे डिभिजन वन कार्यालयको तथ्यांक छ । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully