बारबर्दिया नगरपालिका–१० डफैयाका एक पुरुषको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।
बर्दिया — चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका–१० सिम्रवा सामुदायिक वनमा बेगारी खुलेको र बेगारी गर्न गएका थारु वनमा शौच गर्न गएको बेला चितुवाको आक्रमणमा परेको खबर प्राप्त भएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए । ‘घटनास्थलमा वन कर्मचारी खटिएका छन् । चितुवालाई नियन्त्रणमा लिन केज राख्ने तयारी भइरहेको छ,’ उनले भने ।
छाती, गर्दन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।
गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो । यस्तै, गत मंसिर १६ गते घर नजिकै राखेको पराल लिन गएको बेला परालमा बसेको चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु घाइते भएकी थिइन् ।
चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको छ भने ७ जना घाइते भइसकेको डिभिजन वन कार्यालयको तथ्यांकले पुष्टि गर्छ । पछिल्लो समयमा चितुवाको आक्रमण बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।
