केन्द्रबाट निर्देशन नहुँदा लुम्बिनीमा सुस्तायो नेपाली कम्युनिस्ट पार्टी

एकता घोषणाको डेढ महिना बितिसक्दा पनि बनेनन् प्रदेश, जिल्ला र पालिकास्तरमा संगठन संरचना ।

पुस २, २०८२

घनश्याम गौतम

Nepali Communist Party slows down in Lumbini due to lack of direction from the center

What you should know

बुटवल — पार्टी एकतापछि उत्साहित देखिएको नेपाली कम्युनिस्ट पार्टीको संगठन निर्माण सुस्त भएको छ । लुम्बिनी प्रदेशमा पार्टी एकताको डेढ महिना बितिसक्दा पनि कुनै सांगठनिक गतिविधि हुन सकेका छैनन् ।

कात्तिक १९ गते ८ दल मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो । त्यसको झण्डै एक महिनापछि मंसिर १३ गते दाङको लमहीमा लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा गरिएको थियो । त्यसपछि जिल्लाहरूमा एकता सभा भए । तर, जिल्लापछि पालिका र वडा तहसम्म एकता सभा गर्ने कार्यक्रम भए पनि अहिले सभाका कार्यक्रम सुस्ताएका हुन् ।

संगठन संरचना, निर्माण र जिम्मेवारीको विषयमा भने अहिलेसम्म पनि केन्द्रीय तहबाट कुनै निर्णय वा निर्देशन नआएपछि प्रदेश र जिल्ला तहका गतिविधि पनि निष्क्रिय बनेका हुन् । 

पार्टी एकताको घोषणा सभामा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहने जानकारी गराइएको थियो । तर, त्यसको प्रदेश, जिल्ला, पालिका र वडामा कसरी/कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म पनि कुनै जानकारी नगराइएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष  सुदर्शन बरालले बताए ।

‘अहिले नेपाली कम्युनिस्ट पार्टीमा देशैभर संगठनात्मक अन्योल र अकर्मन्यताको अवस्था छ,’ उनले भने, ‘नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले नै केन्द्रीय कमिटी पूर्ण गराउन सकेका छैनन्, प्रदेश, जिल्ला, नगर र वडामा के हुने भन्ने त कुनै निर्देशन पनि छैन ।’

एकता प्रकृयामा सहभागी भएका ९ दलमध्ये लुम्बिनी प्रदेशका धेरै जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मात्र उपस्थिति छ । रूपन्देही, कपिलबस्तु, बाँके, नवलपरासी र बर्दियामा नेकपा बहुमत, जनसमाजवादी र नेकपा विद्रोहीको पनि संगठन रहेको छ । तर, संयुक्त सभा भएका अधिकांश जिल्लामा पूर्वमाओवादी केन्द्र र नेकपा एसका कार्यकर्ताको उपस्थितिमा मात्र संयुक्त सभा भएका छन् ।

अहिले चलिरहेको पालिकास्तरका सभामा पनि त्यस्तै नै उपस्थिति रहेको रूपन्देहीका पूर्वमाओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जीसीले बताए । ‘संगठन कस्तो बनाउने भन्ने कुनै निर्देशन नै छैन,’ उनले भने, ‘सन्देश सभाका नाममा भेला हुने काम भइरहेको छ ।’ रूपन्देहीमा एकता प्रक्रियामा आएका पूर्वमाओवादी केन्द्र, नेकपा एस र जन समाजवादीको मात्र सांगठनिक संरचना रहेको उनले बताए ।

एकतापछि पूर्वमाओवादी केन्द्रकै नेताहरूकै अगुवाइमा लुम्बिनी प्रदेश सभामा संसदीय दल गठन गरेका छन् । संसदीय दलको नेतामा माओवादी केन्द्रकै जोखबहादुर महरा, प्रमुख सचेतकमा पनि माओवादीका इन्द्रजित थारु र सचेतकमा पूर्वसमाजवादीकी भगवती न्यौपानेलाई चयन गरेर प्रदेश सभामा जानकारी गराइएको छ । त्यसबाहेक अन्य कुनै संरचना फेरबदल नगरिएको बरालले बताए ।

नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्जसमेत रहेका मेटमणी चौधरीले केन्द्रीय कमिटीको पूर्णताका विषयमा छलफल चलिरहेको र त्यसलगत्तै प्रदेश र जिल्ला तहको छलफल गर्ने बताए ।

‘संगठन निर्माण सुस्ताएको छ, तर अब छिट्टै फर्मेसन हुन्छ,’  उनले भने, ‘एकसाथ पार्टी उठाउने गरी गहन छलफल चलिरहेकाले केही ढिलाइ भएको लागेको हो । तर, त्यस्तो सुस्त भएको छैन ।’

पूर्वमाओवादीका एक प्रदेश सदस्यले भने छिन्नभिन्न हुन लागेको एमालेले त्यही अप्ठ्यारोको बीचमा देशभरबाट प्रतिनिधि छनोट गरेर अधिवेशन सम्पन्न गरिसक्दा पनि एकता गरेको नेपाली कम्युनिस्ट पार्टीको संगठन झनै छिन्नभिन्न हुने अवस्थामा पुगेको बताए ।

‘भन्दा एकता घोषणा भनियो,’ उनले भने, ‘अहिले संगठन संरचना र निर्माणको प्रक्रिया हेर्दा एकता भन्दा बढी छिन्नभिन्न हुने अवस्थामा पुगेको छ ।’ कांग्रेसले समेत देशभर प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार छनोट गरेर महाधिवेशन केन्द्रित हुन थाल्दा पनि नेपाली कम्युनिस्ट पार्टीमा कुनै गतिविधि नदेखिएको पनि उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully