बजार मूल्य करिब ४५ लाख रुपैयाँ
परासी — पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरीले १ हजार ८ सय थान भेप बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा परालको कुन्युमा लुकाइराखिएको अवस्थामा सशस्त्र प्रहरीले भेप बरामद गरेको हो ।
लुकाइछिपाइ भारततर्फ लैजान खोजिएको अवस्थामा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरिएको र यसको बजार मूल्य करिब ४५ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर २६ हेडक्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसीले बताए ।
चीनबाट नेपाल हुँदै भारततर्फ भेप तस्करी हुने गरेको बताइएको छ । बरामद भएको भेप आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।
भेप बरामद भए पनि यसको कारोबारमा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । बेवारिसे अवस्थामा लुकाएर राखिएको सामान बरामद गरिएको हो ।
