समस्या जटिल देखिएपछि तत्कालै रिफर गरिएको प्यूठान अस्पतालका डा. सुवास पौडेलले बताए । ‘जिल्ला अस्पतालमा आईसीयू नभएकाले अप्रेसन गर्ने अवस्था थिएन,’ उनले भने, ‘सुरक्षित सुत्केरी गराउनका लागि उपल्लो निकायमा रिफर गरेका हौं ।’
What you should know
प्यूठान — प्यूठानमा एक गर्भवतीको ज्यान गएको छ । समयमै उपचार नपाउँदा नौबहिनी गाउँपालिका–६ की ३३ वर्षीया आशा विकको ज्यान गएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा सोमबार उनको ज्यान गएको हो ।
पारिवारिक स्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो । ‘स्वास्थ्य चौकीमा लग्यौं, त्यहाँबाट प्यूठान अस्पताल लग्यौं, त्यहाँ पनि नहुने भएपछि बुटवल पुर्याएका थियौं,’ आशाकी देउरानी रेखाले भनिन्, ‘लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा आमा र बच्चा दुवैको एक घण्टाअघि नै ज्यान गइसकेको अस्पतालले भन्यो ।’
नियमित स्वास्थ्य जाँच र समयमै स्वास्थ्य चौकी पुर्याए पनि मृत्युको कारणबारे भने थाहा नभएको उनले बताइन् । मंसिर १६ मा जिल्ला अस्पताल पुगेर भिडियो एक्सरे गर्दा अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएको उनले बताइन् ।
आइतबार बिहान ९ बजे आशा स्वास्थ्य चौकी आइपुगेको लुङ स्वास्थ्य चौकीका इन्चार्ज गोविन्दबहादुर केसीले जानकारी दिए । ‘११ बजेदेखि व्यथा लाग्न सुरु भएको थियो, बच्चा र आमा दुवैको अवस्था नर्मल थियो,’ उनले भने, ‘पाठेघरको मुख खुल्दै गए पनि दुखाइ बढी भएको, आमाले बल गर्न नसकेको र प्रेसर पनि बढ्न थालेपछि रिफर गर्यौं ।’ एम्बुलेन्स आउन ढिलाइ हुने भन्दै परिवारका सदस्यले जीपमा उनलाई जिल्ला अस्पताल पुर्याएका थिए ।
समस्या जटिल देखिएपछि तत्कालै रिफर गरिएको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले बताए । ‘जिल्ला अस्पतालमा आईसीयू नभएकाले अप्रेसन गर्ने अवस्था थिएन,’ उनले भने, ‘सुरक्षित सुत्केरी गराउनका लागि उपल्लो निकायमा रिफर गरेका हौं ।’
लुम्बिनी प्रादेशिक अस्पताल पुर्याउँदा पुर्याउँदै सोमबार बिहान अस्पतालले आमा र बच्चा दुवैको ज्यान गइसकेको बताएको थियो । आशाका तीन सन्तान छन् ।
