हराएका खामबहादुरको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् ।
रुकुम पश्चिम — रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट एक जना व्यक्ति सम्पर्कविहीन भएका छन् । त्रिवेणी गाउँपालिका–१ कारागाउँ स्थायी घर भइ हाल मुसिकोट–१ बागबजारमा बस्दै आएका ४५ वर्षीय खामबहादुर नेपाली हराएका हुन् ।
खामबहादुरका जेठा छोरा कमल परियारका अनुसार उनले श्रीमती बिरामी भएपछि जिल्ला अस्पताल सल्लेमा भर्ना गरी उपचार गराइरहेका थिए । गत मंसिर १९ गते बिहान श्रीमतीलाई खाना लिन जान्छु भनी अस्पतालबाट निस्केका खामबहादुर त्यसपछि नफर्किएको कमलले बताए ।
‘विगत केही वर्षदेखि बागबजारमा डेरा गरेर बा–आमा बस्नु हुन्थ्यो । हामी दुई भाइ काम गर्न साउदीमा थियौं । त्यो साँझसम्म पनि बाबा नफर्केको भन्ने खबर पाएपछि म आइतबार घर आइपुगेको छु,’ उनले भने, ‘घर–परिवारमा जानकारी नदिएर यसरी बाबा कहिल्यै निस्कनु हुन्थेन । एक्कासि के भएर यस्तो भयो हामी नै अचम्ममा परेका छौं ।’
हराएका खामबहादुरको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको छ ।
बुवा हराएपछि आफूहरूले प्रहरीमा खबर गरेको र सम्भावित सबै ठाउँमा खोजिरहेको छोरा कमलले बताए । ‘अस्पतालमा बिरामी छोडेर निस्किएका बुबा हराउँदा साह्रै पिर परेको छ,’ उनले भने, ‘खोजी कार्यमा सहयोग गरिदिन सबैमा विशेष अनुरोध छ ।’
