गरिबी घटाउन बैंकमा लगानी गर्नुपर्छ : गभर्नर पौडेल

ऋण प्रवाह गर्दा अनुगमन गरेर मात्रै ऋण दिन गभर्नरले दिए निर्देशन ।

पुस १, २०८२

काशीराम डाँगी

Investment in banks should be made to reduce poverty: Governor Poudel

What you should know

रोल्पा — राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले वित्तीय लगानी वृद्धि गरेर गरिबी हटाउन निर्देशन दिएका छन्। ग्रामीण आर्थिक अवस्थाको अनुगमन गर्ने क्रममा मंगलबार रोल्पाको लिबाङमा आइपुगेका गभर्नर पौडेलले लगानीकर्ता, वित्तीय संस्था एवं सेवाग्राहीबीचको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताएका हुन् ।

कार्यक्रममा जिल्लामा रहेका बैंक र माइक्रोफाइनान्सका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।त्यस अवसरमा उनले सबै खालका वित्तीय संस्थालाई उपलब्धिमूलक लगानीमा जोड दिन आह्वान गरेका हुन्।  

'साना तथा ठूला वित्तीय संस्थाबाट कृषिमा ऋण प्रवाह गर्ने नीति भए पनि ग्रामीण तहमा त्यसको प्रभाव देख्न पाइएन,' उनले भने, 'ग्रामीण जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी दरिलो अनुगमन गरेर मात्रै लगानी गर्नुहोस् । जब लगानी गरिन्छ भने सेवाग्राहीलाई फाइदा पुग्ने गरेर र लगानी डुब्न नसक्ने गरेर योजना बनाउनुपर्छ ।'

ग्रामीण जीवनलाई माथि उकास्न र ठूलो राजनीतिक परिवर्तनपछिको अवस्थाबारे बुझ्न पूर्वी पहाडी क्षेत्रमा भ्रमण र अनुगमन गर्न निस्केका उनीसहितको टोली रुकुम हुँदै पश्चिमी पहाडी क्षेत्रमा पनि पुग्नेछ। उनले बैंक र माइक्रो फाइनान्सलाई गरिबी घटाउन र जीवनस्तर उकास्ने उद्देश्यले लगानी गर्न ध्यानाकर्षण गराए। उनले लामो सशस्त्र द्वन्द्वका कारण ग्रामीण भेगमा लगानी हुन नसक्नुले यहाँको विकासमा नकारात्मक असर परेको स्वीकार गर्दै शान्ति प्रक्रियापछि पनि आशा गरेअनुसारको लगानी वृद्धि र उपलब्धि पाउन नसक्नु दुःखद भएको समेत बताए।

बैंक र माइक्रो फाइनान्सले व्यावसायिक योजनाबिना नै ऋण प्रवाह गरेकामा गभर्नर पौडेलले दु:ख व्यक्त गरे। 'अनुगमन गरेर मात्रै ऋण दिने नीति छ, त्यसै अनुसार काम गर्नुपर्छ । तर कतैकतै भोजभतेर खानका लागि बैंक र माइक्रो फाइनान्सहरुले ऋण दिन गरेको पाइयो, यसो गर्नु आर्थिक नीतिविरुद्धको काम हो।' अन्तर्क्रियामा कतिपय माइक्रो फाइनान्सले रोल्पामा लगानी गरेको ऋण उपलब्धिहीन काममा लगाइएको स्वीकार गरेका थिए। ती फाइनान्सले प्रभावकारी अनुगमनबिना नै ऋण दिँदै आएको बताए ।

ऋण प्रवाह गर्दा अनुगमन गरेर मात्रै ऋण दिन गभर्नर पौडेलले निर्देश पनि दिए। बैंक र माइक्रो फाइनान्सले रोल्पामा ४ अर्बभन्दा माथिको लगानी गरेका छन्।

बैंक र माइक्रो फाइनान्सले राम्रो लगानी गर्नुअघि प्रस्ताव लिएर आउन भन्न र त्यसमा साथ र सहयोग गरेर लगानी गर्न उनले सुझाव दिए। 'कहीं पनि लगानी गर्नुअघि अनुगमन र सहयोग गर्नुपर्ने हुन्छ। राम्रोसँग ध्यान दिनुहोस् । आफन्त हेरेर र कुनै लाभ लिएर लगानी गर्नुहुँदैन,' गभर्नर पौडेलले भने। उनले  प्रस्ताव लिएर आउनेलाई नीति र कार्यक्रम अनुसार ऋण प्रवाह गर्न निर्देशन पनि दिए।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully