नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी अञ्जुका श्रीमान् पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कस्थितबाट २६ वर्षीय अनिल थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पुस १, २०८२

रामप्रसाद चौहान 

Husband of Anju, who was forced to choose death due to lack of citizenship, arrested

बर्दिया — नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कस्थितबाट २६ वर्षीय अनिल थारुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी स्थायी घर भएका अनिल हाल बाँके कोहलपुर नगरपालिका–६ स्थित बस्दै आएका थिए । अञ्जुको मृत्युपछि अनिलविरुद्ध ईलाका प्रहरी कार्यालय मैनापोखरमा आत्म हत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । 

अनिललाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

मंन्दिरमा सिन्दुर हालेर अञ्जुलाई अनिलले घरमा भित्र्याएका थिए । अनिलकै घरमा अञ्जुले छोरी अनितालाई जन्माएकी थिइन् । त्यसपछि अनिलले अञ्जुलाई वास्ता गर्न छोडेका थिए । 

अनिलले अञ्जुलाई बेवास्ता गरेपछि अञ्जु माईतीमा बस्न बाध्य भएकी थिइन् । पतिबाट उपेक्षित अञ्जु अंशको माग गर्दै अदालत पुगेकी थिइन् । अनिलले पाउने अंशबाट अञ्जु र उनकी छोरी अनितालाई दिनुपर्ने अदालतले फैसला गरेको थियो । 

तर, त्यो अदालतको फैसला कार्यान्वय भएको थिएन । अञ्जुसँग नागरिकता नहुँदा अंश पाउन समस्या भयो । धेरै प्रयास गर्दासमेत नागरिकता पाउन नसकेर २२ कात्तिकमा अञ्जुले घरमै आत्महत्या गरिन् भने सँगै न्यायको लडाइँमा संघर्ष गर्दै आएका उनका बाबु ६१ वर्षीय कान्छा थारूले पनि चार दिनपछि छोरीकै बाटो पछ्याएका थिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully