बुटवल–नारायणगढ खण्डमा ४२ पुल निर्माण सम्पन्न

दाउन्नेबाहेक अन्य स्थानमा यातायात सहज ।

पुस १, २०८२

नवीन पौडेल

Construction of 42 bridges completed on Butwal-Narayangadh section

What you should know

परासी — विस्तारका क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्डमा ४२ वटा पुल निर्माण सम्पन्न भएका छन् । पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा ९ वटा ठूला पुल निर्माणको काम सम्पन्न भएको हो । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ९ मध्ये सबैको काम सकिएको र पूर्वी खण्डमा एउटा मात्र पुल निर्माण हुन बाँकी छ ।

बुटवलदेखि दाउन्नेसम्ममा पुल निर्माणको काम सम्पन्न भएको र २ सय ५३ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा २ सय ४९ वटाको काम सकिएको छ । दाउन्ने खण्डमा ४ वटा कल्भर्ट निर्माणको कामले पनि तीव्रता लिएको छ ।

पश्चिम खण्डको दाउन्नेतर्फ धमाधम काम भइरहेको र चैत महिनासम्ममा दाउन्नेमा यातायात सहज हुने गरेर काम अगाडि बढिरहेको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए । 

पूर्वी खण्डमा दुई सय मिटरभन्दा लामो पुलमध्ये  अरुणखोलाको पुल मात्र निर्माणको काम बाँकी रहेको छ । पुल निर्माण सम्पन्न भएको स्थानमा अहिले धमाधम एप्रोच सडकमा कालोपत्र गर्ने काम भइरहेको छ । 

अहिलेसम्म पूर्व र पश्चिम खण्ड दुवैतर्फ ७६ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । दाउन्ने खण्डबाहेक अन्य क्षेत्रमा यातायात सञ्चालन सहज भए पनि दाउन्नेमा भने यात्रुले सास्ती भोगिरहनु परेको छ । एकतर्फी यातायात  सञ्चालन गरेर दिन र रातमा पनि काम भइरहेको भए पनि दाउन्नेमा हरेक दिन यात्रुले जाममा बस्नुपर्ने बाध्यता छ । 

२०७५ माघमा काम सुर भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माणको जिम्मा लिए पनि तीनपटकसम्म म्याद थप भएको छ । तेस्रो पटक थप भएको म्याद आगामी असार मसान्तमा सकिँदैछ । तर काम सम्पन्न हुनेमा  ठेकेदार र सरकारी पक्ष ढुक्क देखिँदैनन् । एसियाली विकास बैङ्कको ऋण सहयोगमा १ सय १४ किलोमिटर करिब १७ अर्बको लागतमा विस्तार भइरहेको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully