लुम्बिनी प्रदेश कांग्रेस सभापति अम्मरसिंह पुनका अनुसार अर्घाखाँची, गुल्मी, बर्दिया र रूपन्देहीबाट सिफारिस हुन बाँकी छ ।
बुटवल — आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले लुम्बिनीका ८ जिल्लाबाट सिफारिस गरेको छ । ४ जिल्लाबाट अझै सिफारिस हुन सकेको छैन ।
पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश समितिमा पठाउने व्यवस्था छ । लुम्बिनी प्रदेश कांग्रेस सभापति अम्मरसिंह पुनका अनुसार अर्घाखाँची, गुल्मी, बर्दिया र रूपन्देहीबाट सिफारिस हुन बाँकी छ ।
रूपन्देहीका केही क्षेत्रबाट सिफारिस भए पनि जिल्लाले प्रदेशमा अझै सिफारिस पठाएको छैन । पश्चिम नवलपरासी, कपिलबस्तु, दाङ, पाल्पा, बाँके, प्यूठान, रोल्पा र पूर्वी रुकुमबाट उम्मेदवार सिफारिस भएको छ ।
कांग्रेसले मंसिर २६ गतेसम्मका लागि समय सीमा दिएको थियो । तर, कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनले प्रदेशले केन्द्रमा सिफारिस गर्ने समय पुस ४ गतेसम्म तोकेको छ । ‘केही जिल्लामा क्षेत्रले सिफारिस पठाए पनि जिल्लाले बुझ्ने काम बाँकी छन्,’ उनले भने, ‘केही जिल्लाका क्षेत्रीय समितिले पनि सिफारिस गर्न सकेका छैनन् ।’
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । तीमध्ये अर्घाखाँची, रोल्पा र रुकुम पूर्व जिल्लामा एक–एक निर्वाचन क्षेत्र रहेका छन् ।
