ओझेलमा परेको थारु सांस्कृतिक संग्रहालय

बर्दिया निकुञ्जको मूलद्वारमा प्रचार सामग्री नहुँदा थारु संग्रहालयबारे जानकारी नपाएका धेरै पर्यटक वन क्षेत्र अवलोकन गरेर फर्किने गरेका छन् ।

मंसिर २९, २०८२

कमल पन्थी

The neglected Tharu Cultural Museum

What you should know

बर्दिया — पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको थारु सांस्कृतिक संग्रहालय पर्यटकको नजरमा नपर्दा ओझेलमा परेको छ । थारु संस्कृतिको प्राचीन सभ्यताका मूर्ति र सजाएर राखिएका कलात्मक वस्तुले संग्रहालय सज्जित छ ।

स्वदेशी तथा विदेशी इतिहासका विद्यार्थीका लागि थारु संग्रहालय अध्ययनका लागि आकर्षक बने पनि अन्य पर्यटकले जानकारी नपाउँदा वन क्षेत्र अवलोकन गरी फर्कने गरेका छन् । निकुञ्ज प्रवेश गर्ने मूलद्वारमा प्रचार–प्रसारका पोस्टर, डिस्प्ले लगायतका सामग्री नहुँदा पर्यटकले थारु संग्रहालयबारे जानकारी नपाएको बताउँछन् । पर्यटन व्यवसायी मोहन चौधरीले थारु संग्रहालयको प्रचारका लागि निकुञ्जको मुख्यालयमा डिस्प्ले मार्फत प्रचार–प्रसारसँगै आगन्तुकलाई कर्मचारीले जानकारी गराए थप आकर्षण बढ्ने र पर्यटकको रुचि वृद्धि हुने बताए । पहिल्यै जानकारी पाएका पर्यटकले अन्य आगन्तुकलाई लिएर थारु संग्रहालय अवलोकन गर्ने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराको मूलद्वार नजिक थारु सांस्कृतिक संग्रहालय रहेको छ । यहाँ आउने आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्दा नलोभिने कोही भेटिँदैनन् । थारु सांस्कृतिक संग्रहालय पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको छ । निकुञ्ज प्रवेश गर्दा सबैभन्दा पहिले यहाँ आगन्तुकको आँखा संग्रहालयमा पर्छ । यहाँ वन्यजन्तु अवलोकन गर्न आउने २० देखि ४० प्रतिशत पर्यटक संग्रहालय प्रवेश गर्ने गरेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सांस्कृतिक विविधतालाई संरक्षणको रूपमा लिएपछि २०५७ सालमा ठाकुरद्वारामा थारु सांस्कृतिक संग्रहालय स्थापना गरेको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले यस केन्द्रको स्थापना भएपछि यहाँ अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढेको बताए । ‘निकुञ्जसँग बजेटको अभावले डिस्प्ले राख्न सकिएको छैन,’ उनले भने, ‘पालिका लगायत पर्यटन बोर्डलाई डिस्प्ले राखिदिन आग्रह गरेका छौँ ।’

थारु संग्रहालय केन्द्र अवलोकन गर्न नेपालीलाई ५० र विदेशीलाई १०० रुपैयाँ शुल्क लिने गरिएको बर्दिया निकुञ्जले जनाएको छ । यस केन्द्रमा २ सय ३८ प्रकारका थारु संस्कृति झल्कने सामग्रीहरू रहेको अधिकृत पौडेलले जानकारी दिए । पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक संरक्षणका माध्यमबाट संस्कृति जोगाउन उत्तिकै जरुरी रहेको पर्यटन व्यवसायी रामजी थापा बताउँछन् । ५१ प्रतिशत थारु बाहुल्य जिल्ला बर्दियामा थारु संग्रहालय स्थापना भए पनि यसको प्रचार–प्रसारका लागि यहाँका पर्यटन व्यवसायीले अझ बढी अभिरुचि देखाउनुपर्ने स्थानीयको भनाइ छ ।।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully