२०७१ सालको बबई बाढीबाट घर गुमाएका पीडित परिवारले सरकारले वाचा गरेको घर निर्माणको सम्पूर्ण रकम अझै पाएका छैनन् ।
What you should know
बर्दिया — २०७१ साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका–३ हरियाली टोल टेपरीकी रविना पठानको कच्ची घर पूर्ण रुपमा क्षति भयो ।
तत्कालीन सरकारले बाढीपीडितलाई घर निर्माणका लागि ३ लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ता १ लाख १० हजार दिएपछि थप रकम आउला भनी उनले घरखेत धरौटी राखी साहुबाट ऋण लिइन् । बजेट नआएपछि ऋण लिएको रकमले घर निर्माण गरिन् । थप २ लाख ४० हजार सरकारले देला र तिरौंला भन्दाभन्दै राहत आएन । उल्टै साहुले ऋण तिर्न, नभए घर छाड्न दबाब दिएपछि उनको चिन्ता बढेको छ ।
'राज्यले हामी निम्न आय भएका नागरिकमाथि अन्याय गरेको छ,' उनले भनिन्, 'साहुले घर छाड्न दबाब दिएको छ, आम्दानीको नाममा श्रीमान् र छोराले साइकलमा तरकारी राखी घरघर बेचेको रकम हो, त्यसले घरखर्च मात्र पुग्छ ।'
सोही ठाउँका ७५ वर्षीय देउता गोडियाको अवस्था उस्तै छ । त्यसबेलामा आएको बाढीले उनको पनि कच्ची घर पूर्ण रुपमा क्षतिग्रस्त बन्यो । जुटका बोराले बेरेर उनले आश्रय बनाए । राज्यबाट पाउने रकम पूरा नपाउँदा ऋण लिए । 'अहिले पनि बुढेसकालमा ऋण तिर्न गिट्टी, ढुंगा फोड्नुपरेको छ,' उनले भने ।
०७१ सालमा आएको बाढीले यस गाउँका करिब ९० प्रतिशत घर डुबानमा परेका थिए । ऋण र बेरोजगारीका कारण यस गाउँका ९० प्रतिशत युवा भारतमा मजदुरी गर्न गएका छन् । बाढीपीडित नेवाल गोडियाका २ छोरा ऋण चुक्ता गर्ने खर्च जुटाउन रोजगारीका लागि भारत गएको आफन्ता मीमा खड्काले बताइन् ।
सामाजिक अभियन्ता राजकुमार बर्माले स्थानीय जनप्रतिनिधिको कमजोरीले सम्बधित निकायबाट बजेट निकासा गर्न नसकेकामा गुनासो पोखे ।
वडा नम्बर ३ का अध्यक्ष सर्वजित यादवले बाढीपीडतका लागि किस्तामा दिने रकम पूरा नआउँदा पीडितले दु:ख पाएको सुनाए ।बाढीले जिल्लामा ३२ जनाको ज्यान गएको थियो ।
सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका प्रमुख राजु न्यौपानेले यस वर्ष बर्दियाका बाढीपीडितका लागि घर बनाउने बजेट नभएको बताए । आफू भर्खरै सरुवा भई आएकाले आगामी आर्थिक वर्षमा छुट भएका बाढी प्रभावितको घर निर्माणका लागि बजेट माग गर्ने उनको भनाइ छ ।
