अहिले भने मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसीपीबाट देशमै पहिलोपटक सुरु गरिएको छ ।
What you should know
नेपालगन्ज — सल्लाको आख्लालगायत केही काठजन्य वस्तु र जडिबुटीको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेशनलाई अनिवार्य गरेको छ । करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन सकेको थिएन ।
अहिले भने मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसीपीबाट देशमै पहिलोपटक सुरु गरिएको छ । यसको प्रयोग फलफूल, तरकारी, अन्न तथा काठ प्याकिङ आदीमा लुकेका कीरा नष्ट गर्न, क्वारेन्टाइन् सुरक्षाका लागि, निर्यात, आयातमा अर्न्तराष्ट्रिय मापदण्ड पूरा गर्न गरिन्छ ।
व्यवुसायीको निरन्तरको दबाब र प्रयासपछि हाल आएर पहिलो पटक आइसीपीमा मिथाइल ब्रोमाइड फ्युमिगेशन सुरु भएको हो । कानुन बनेको ५० वर्षपछि देशमै पहिलो पटक यसको सुरुवात गराउन पाउँदा स्थानीय व्यवासायी उत्साहित बनेका छन् ।
नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माले सल्लाको आख्ला लगायतका केही काठजन्य वस्तु र जडिबुटीहरुको निर्यातमा भारत सरकारले मिथाइल ब्रोमाइड फ्युमिगेशनलाई अनिवार्य गरेपछि दुई वर्षदेखि ती जडिबुटी व्यवसायीका गोदाममै थन्किएको बताए ।
उनले पहिलो पटकमै ४० मेट्रिक टन सल्लाको आख्लाको मिथाइल ब्रोमाइड फ्युमिगेशन गरिएको जानकारी दिए । उनका अनुसार सम्बन्धित वस्तुहरूलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गर्ने प्रक्रियालाई मिथाइल ब्रोमाइड फ्युमिगेशन भनिन्छ ।
यससँगै स्थानीय गोदाममा थन्किएका दुई हजार मेट्रिक टन सल्लाको आख्लाको निर्यात प्रक्रिया सुरु भएको संघले जनाएको छ । नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार तथा व्यवसायी रविन्द्रनाथ शुक्लाले अब नेपालगन्जमा थन्किएको र पहाडी जिल्लामा संकलन भएर राखिएका करिब सय कन्टेनर सल्लाको आख्लाको निर्यात सुरु भएको बताए ।
उनले जाजरकोट, सल्यान, दैलेख र रुकुम लगायतका जिल्लाहरुबाट सल्लाको आख्ला धेरै आउने गरेको जनाउदै ती जिल्लाहरुमा पनि ठूलो परिमाणमा संकलन गरेर राखिएका सल्लाको आख्लाको अब निर्यात हुने सुनाए ।
उता, सल्लाको आख्लाको निर्यातमा सरकारले सय प्रतिशत कर लगाएकोमा बाँकेका जडिबुटी व्यवसायीहरुले सो कर घटाउनुपर्ने माग गर्दै आएका छन् ।
