सत्यवती बहुमुखी क्याम्पसमा महायज्ञबाट झण्डै चार करोड रुपैयाँ संकलन

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन दिनुका साथै आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा वाचन गरेका थिए ।

मंसिर २६, २०८२

सन्तोष महतारा

Nearly 40 million rupees collected from Mahayagya at Satyawati Multiple Campus

What you should know

गुल्मी — सत्यवती बहुमुखी क्याम्पसमा महायज्ञबाट झण्डै चार करोड रुपैयाँ संकलन भएको छ ।  सत्यवती गाउँपालिका-५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसले क्याम्पस सहयोगार्थ ज्ञान महायज्ञ संचालन गरेको थियो ।

गत मंसिर १८ गतेबाट २५ गतेसम्म संचालन भएको 'राष्ट्रकल्याण एवं विश्वशान्ति विराट् धनधान्याचल साङ्ग-श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ-२०८२' बाट केही दानपेटिकाको रकम गणना बाँकी रहेकामा झण्डै चार करोड रुपैयाँ संकलन भएको प्रचारप्रसार समिति संयोजक प्रकाश भट्टराईले बताए ।

महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन दिनुका साथै आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा वाचन गरेका थिए ।

महायज्ञमा सबैभन्दा धेरै रकम सहयोग गर्नेहरूमा सत्यवती गाउँपालिका-५ हँसरा स्थायी ठेगाना भई हाल स्कटल्याण्ड बस्ने काशीराम भण्डारीबाट १० लाख रुपैयाँ र स्व. पदमपाणी ज्ञवालीको स्मृतिमा परिवारबाट १० लाख रुपैयाँ र  सत्यवती गाउँपालिका-८ भार्से स्थायी ठेगाना भई हाल बेलायत बस्ने कुलबहादुर बुढाथोकीबाट १० लाख रुपैयाँ सहयोग भएको प्रचारप्रसार समिति संयोजक भट्टराईले जानकारी दिए ।Nearly 40 million rupees collected from Mahayagya at Satyawati Multiple Campus

हँसराकै क्याम्पसका पूर्वअध्यक्ष लक्ष्मण भण्डारीले परिवारका तर्फबाट सात लाख रुपैयाँ, स्व. बाबुराम भण्डारी र स्व. बसुन्धरा भण्डारीको स्मृतिमा सत्यवती-४ लिम्घाबाट परिवारका तर्फबाट पाँच लाख रुपैयाँ, हँसराकै स्व. वामदेव ज्ञवाली, स्व. सुमित्रा ज्ञवालीको स्मृतिमा परिवारका तर्फबाट पाँच लाख रुपैयाँ र सत्यवती-७ स्थायी ठेगाना भई हाल भारतमा बस्ने गोमबहादुर भुसाल क्षत्रीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै महायज्ञमा ७ सय ५० मुरी धान र ३० क्विन्टल चामल संकलन भएको छ । महायज्ञमा करोडौं दीप प्रज्वलन भएका थिए ।

१० लाख रुपैयाँभन्दा बढी सहयोग गर्नहरूको कक्ष निर्माण गर्ने योजना क्याम्पसको छ । दुई वाचनकर्ताका नाममा पनि कक्ष निर्माण गर्ने योजना रहेको छ ।

महायज्ञ संचालनमा सहजीकरण गरेका संचार क्षेत्रमा क्रियाशील पत्रकार भुवन भुसालले महायज्ञमा स्वतस्फूर्त सहयोग र पेसा व्यवसाय छाडेर महायज्ञ स्वयंसेवकका रूपमा उत्साहजनक खटिएको पक्ष निकै सकारात्मक रहेको बताए । धर्मबाट एकता झल्किएको, कुनै विभेद नदेखिएको, महायज्ञमा सबै खटिएको, विदेशबाट पनि महायज्ञकै लागि आएको र अध्यात्मले सबैलाई जोडेकामा सबैको मन प्रशन्न भएको उनको जिकिर थियो ।Nearly 40 million rupees collected from Mahayagya at Satyawati Multiple Campus

टपरी, माला, धान र चामल अनगिन्ती सहयोग, धर्ममा कुनै जातका आधारमा विभेद नभएको, जात व्यवस्थामा भएको विभेद गलत भएको स्वयम् प्रवचनकर्ताले भनिरहेको, सामूहिक खानपन र सकारात्मक सोचको विकास भएको उनले बताए । 'चौतर्फी सहयोगले अपेक्षा गरेभन्दा धेरै रकम जुटाउन आयोजक सफल भए,' उनले भने, 'विभक्त भएको समाजलाई एकताको डोरीले बाँधेको, राजनीतिक सुधार र समाज सुधारमा एकस्वर देखिएको एउटा अनुपम उदाहरण महायज्ञमा देखियो।'

क्याम्पसले सूचना तथा संचार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न, आर्थिक विकास र भौतिक पूर्वाधारलाई सबल बनाउन, आवासीय छात्रावासको व्यवस्था गर्न, आधुनिक पुस्तकालय निर्माण गर्न, विद्यार्थीलाई 'पढ्दै कमाउँदै' कार्यक्रममा जोड्न र नीतिचेतना, आदर्श धर्म र संस्कारमा आधारित समयसापेक्ष संस्कृत शिक्षाको व्यवस्थापनमा पहल गर्न महायज्ञ संचालन गरेको थियो ।  महायज्ञबाट करिब तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले बताए ।

संकलित रकम बचत गरेर आएको ब्याजबाट क्याम्पसका क्रियाकलाप अगाडि बढाउने क्याम्पसको प्रारम्भिक तयारी थियो । यद्यपि क्याम्पसले अब थप निर्णय गरेर अगाडि बढ्ने क्याम्पस प्रमुख विकास ढकालले बताए ।

सन्तोष

Link copied successfully